कांग्रेस बैठक : अनुशासन समितिलाई पूर्णता, निर्वाचन समिति गठन



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले अनुशासन समितिलाई पूर्णता दिएको छ । मङ्गलवार बसेको बैठकले रिक्त रहेको पदमा दुई जनाको नाम थप गर्दै समितिलाई पूर्णता दिएको हो । 

समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । दुवै नेता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । उक्त समितिमा सदस्य रहने व्यक्तिको नाम सिफारिस गर्न सभापति शेरबहादुर देउवाले पौडेललाई आग्रह गरेका थिए । 

नेता पौडेलले सिफारिस गरेका नामहरू केन्द्रीय समिति बैठकले सर्वसम्मत अनुमोदन गरेको प्रवक्रा शर्माले बताए । कांग्रेसले सोमबार भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो ।

बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति पनि गठन गरेको छ । प्रवक्रा शर्माका अनुसार समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र टेकराज पौडेल सदस्य छन् ।

बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । समिति सदस्यमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेललाई चयन गरिएको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्