भारतको श्रीनगरमा दुई दिनसम्म कर्फ्यू



एजेन्सी : भारत सरकारले श्रीनगरमा २ दिन कर्फ्यू जारी गरेको छ । जम्मू-कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरिएको पहिलो वर्षगाँठ पुगेको अवसरमा हुन सक्ने सम्भावित विरोधलाई मध्यनजर गर्दै आज र भोलि श्रीनगरमा कर्फ्यू जारी गरिएको हो ।

अलकायदा र पाकिस्तान समर्थित समूहले अगस्ट पाँचलाई कालो दिवस मनाउने तयारी गरेको सूचना बाहिरिएपछि उक्त प्रदर्शन रोक्न तथा सम्भावित क्षतिबाट कर्फ्यू जारी गरिएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कर्फ्यू उल्लंघन हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वास्थ्य समस्या भएर अस्पताल जान बाहेक बाहिर निस्किए कारबाही हुने चेतावनी दिइएको छ ।

मोदी सरकारले गत वर्ष जम्मू-कश्मीरलाई विशेषाधिकार प्रदान गरेको अनुच्छेद ३७० संविधानबाट हटाउँदै सन् २०१९ को अगष्ट ५ मा केन्द्र शासित प्रदेश बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै भारत-प्रशासित साबिक जम्मू-कश्मीर राज्य जम्मू-कश्मीर र लद्दाख गरी दुई केन्द्रशासित प्रदेश भएका थिए । सो निर्णयको भारतमा विपक्षी दल र जम्मू-कश्मिर क्षेत्रमा नै विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्