ओली र बाँस्कोटाको ठट्यौली संवाद, नेकपा विवादबारे बालकोटबाट ओलीका तीन सन्देश



काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सोमबारको वार्ता तिक्ततामा टुंगिएको प्रस्ट संकेत गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित प्रचण्डसँगको कुराकानी टुंगिएलगत्तै निजी निवास बालकोट पुगेका ओलीले ठट्यौली शैलीमा निकट नेताहरूलाई दिएको जवाफले बालुवाटार वार्ताको तिक्तता झल्काएको थियो । 

प्रधानमन्त्रीको आकस्मिक आगमनको जानकारीपछि बनेपामा रहेका पूर्वमन्त्री बाँस्कोटा र निर्वाचन क्षेत्रको विकास निर्माणसँग जोडिएको काममा व्यस्त रहेका सांसद महेश बस्नेत तत्काल बालकोट पुगेका थिए । निवासमा पूर्वमन्त्री बाँस्कोटाले अर्का अध्यक्ष प्रचण्डसँगको छलफलबारे जिज्ञाशा राखेलगत्तै प्रधानमन्त्री ओलीले ठट्यौली पारामा जवाफ फर्काएका थिए । 

‘आज छलफल थियो क्यार, कस्तो भयो ?’ बाँस्कोटाको पहिलो प्रश्नको प्रधानमन्त्रीले ठट्यौली पारामै जवाफ दिएका थिए, ‘जेरी खाएर टुंग्याउने भनेर छलफलमा बसेको त हो, जेरीचाहिँ खाइयो, तर गुलियो मुखमा अलि तितो कुरा होला जस्तो भएपछि गुलियो मुखमा तितो कुरा नगरौँ भनेर आजलाई छोट्यायौँ, तर भोलि फेरि बस्ने कुरा छ ।’

प्रधानमन्त्री ओलीको यस्तो जवाफपछि बाँस्कोटाले ठट्टा गरे, ‘तितेकरेला खाएर बसेपछिचाहिँ कुरा मिल्छ !’ बाँस्कोटाको दोस्रो ठट्टा पनि प्रधानमन्त्री ओलीले रमाइलै शैलीमा जवाफ फर्काए, ‘अँ, भोलि (मंगलबार)चाहिँ तितेकरेला खानुपर्ला, मुख पनि मिठो हुन्छ, कुरा पनि मिल्ला कि ! भोलि (मंगलबार)चाहिँ तितेकरेला बनाऊ है बुझ्यौ (श्रीमती राधिकातिर इशारा गर्दै) ।’

सांसद बस्नेतले बाहिर छलफलबारे नकारात्मक प्रचार भए पनि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँगको छलफल सौहार्दपूर्ण रूपमै चलिरहेको जानकारी गराएको बताए । ‘उहाँले पार्टीभित्रको एकता प्रक्रियामा ढिलाइ भएकाले कार्यकर्तापंक्तिमा निराशा छाएको छ । अब छिट्टै टुंग्याउनुपर्छ । समृद्धिको काममा पनि ढिलासुस्ती भएको छ, तीव्रता दिनुपर्छ भन्ने कुरा राख्नुभो,’ बस्नेतले नयाँ पत्रिकासँग भने, ‘बाहिर जुन ढंगले प्रचार भएको छ, त्यस्तो होइन । हामीले सौहार्दपूर्ण वातावरणमा जेरी खाँदै छलफल गरिरहेका छौँ भन्ने जानकारी गराउनुभएको छ ।’ 

श्रीमती राधिका शाक्यसहित बालकोट पुगेका प्रधानमन्त्री ओलीले निजी निवासमा आफ्नै नाममा निर्माणाधीन संग्रहालयस्वरूपको पुस्तकालयको निरीक्षण गरेका थिए । केहीबेरको निरीक्षणपछि उनले निवासमा बस्दै आएका पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटा, पूर्वउद्योगमन्त्री तथा भक्तपुरका सांसद बस्नेत, जिल्लास्थित प्रशासन प्रमुख र सुरक्षा अंगका प्रमुखहरूसँग केहीबेर कुराकानीसमेत गरेका थिए । 

प्रधानमन्त्री ओलीले सांसद बस्नेतसहित सुरक्षा अंगका प्रमुखहरूसँग भक्तपुरको सुरक्षा, हनुमन्ते करिडोरको निर्माण प्रक्रियासहित जिल्लाको समग्र विकास निर्माण प्रक्रिया, कोभिड– १९ को जोखिम र रोकथामका लागि जनप्रतिनिधि र प्रशासनले खेलिरहेको भूमिकालगायतका विषयमा पनि केन्द्रित रहेर जिज्ञाशा राखेका थिए ।

‘सिडिओ, एसपीसँग पनि अनौपचारिक शैलीमा फ्रेन्ड्ली कुरा गर्नुभो, दुवै पद महिलाले नेतृत्व गरिरहनुभएको छ, अझ राम्रो काम गर्नुस् भनेर उत्साहित बनाउने प्रयास पनि गर्नुभो,’ बस्नेतले भने । 

आधा घन्टा ठट्यौली पाराले अनौपचारिक कुराकानी गरेका ओलीले बालकोटस्थित निजी निवासमा करिब एक घन्टा बिताए । प्रधानमन्त्री ओली केहीबेर करेसाबारीतिर पनि टहलिएका थिए । फर्किने क्रममा पूर्वमन्त्री बाँस्कोटाले एउटा जिज्ञाशा राखे– अब कहिले फर्किनुहुन्छ ? प्रधानमन्त्रीको संक्षिप्त जवाफ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘अब अढाई वर्षपछि हुन सक्छ ।’

बालकोटमा ओलीका तीन सन्देश 

१.‘आज छलफल थियो क्यार, कस्तो भयो ?’ बाँस्कोटाको पहिलो प्रश्नको प्रधानमन्त्रीले ठट्यौली पारामै जवाफ दिएका थिए, ‘जेरी खाएर टुंग्याउने भनेर छलफलमा बसेको त हो, जेरीचाहिँ खाइयो, तर गुलियो मुखमा अलि तितो कुरा होला जस्तो भएपछि गुलियो मुखमा तितो कुरा नगरौँ भनेर आजलाई छोट्यायौँ, तर, भोलि फेरि बस्ने कुरा छ ।’ 

२.प्रधानमन्त्री ओलीको यस्तो जवाफपछि बाँस्कोटाले ठट्टा गरे, ‘तितेकरेला खाएर बसेपछिचाहिँ कुरा मिल्छ !’ बाँस्कोटाको दोस्रो ठट्टा पनि प्रधानमन्त्री ओलीले रमाइलै शैलीमा जवाफ फर्काए, ‘अँ, भोलि (मंगलबार)चाहिँ तितेकरेला खानुपर्ला, मुख पनि मिठो हुन्छ, कुरा पनि मिल्ला कि ! भोलि (मंगलबार)चाहिँ तितेकरेला बनाऊ है बुझ्यौ (श्रीमती राधिकातिर इशारा गर्दै) ।’

३.फर्किने क्रममा पूर्वमन्त्री बाँस्कोटाले एउटा जिज्ञाशा राखे– अब कहिले फर्किनुहुन्छ ? प्रधानमन्त्रीको संक्षिप्त जवाफ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘अब अढाई वर्षपछि हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो नाममा रहेको सम्पत्ति ट्रस्टअन्तर्गत रहने गरी राज्यलाई सुम्पिएका छन् । राज्यलाई सम्पत्ति दिने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीको निजी खर्चमा बालकोटस्थित निवास कम्पाउन्डमा रहेका दुई घरमध्ये दक्षिणतिरको अढाईतले दोस्रो घरलाई संग्रहालयको स्वरूप हुने गरी पुस्तकालय बनाउने काम चलिरहेको छ । 

सांसद बस्नेतका अनुसार पुस्तकालय निर्माणसम्बन्धी कामको रेखदेखका लागि प्रधानमन्त्रीपत्नी राधिका वेलावेलामा निजी निवास बालकोट पुग्ने गरेकी छिन् । ‘लाइब्रेरी निर्माणको रेखदेखका लागि प्रधानमन्त्रीज्यूको म्याडम वेलावेला आउने गर्नुहुन्छ, कहाँ -याक राख्ने, के गर्ने निर्देशन दिने, निरीक्षण गर्ने गर्नुहुन्छ,’ बस्नेतले भने, ‘पुस्तकालयलाई संग्रहालयकै स्वरूप दिने गरी विभिन्न सन्दर्भमा प्राप्त उपहार, ऐतिहासिक दस्ताबेज, संकलित पुस्तक, प्रधानमन्त्री आफैँले लेखेका पुस्तक सबै समेटेर मिलाउने काम पनि चलिरहेको छ ।’ यसअघि गत माघको श्रीपञ्चमीका दिन पनि निवास निरीक्षणका लागि उनी बालकोट पुगेका थिए । बाँस्कोटा अहिले ओलीनिवासमा बस्दै आएका छन् । 

बालुवाटार वार्ता : टस न मस 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बालुवाटारमा भएको छलफल पनि पुरानै अडानमा टुंगिएको छ । उत्कर्षमा पुगेको विवाद समाधानको विधि सचिवालय बैठकबाट प्रवेश गरेर खोज्ने कि स्थायी कमिटी बैठकको निर्धारित एजेन्डाको छलफलबाट भन्ने विषयको विवादमै सोमबारको वार्ता पनि टुंगिएको थियो । पाँच दिनको संवादहीनतापछि आइतबारबाट दुई अध्यक्षबीच सुरु भएको पछिल्लो छलफल प्रगतिउन्मुख छैन । 

‘छलफल आइतबारकै निरन्तरता हो, नयाँ केही पनि छैन, कुरा मिलेको छैन,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘बैठक राख्नमै सहमति नभएकाले छलफल नयाँ कुरामा प्रवेश भएको छैन ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री छाड्नेबाहेक बाँकी कुरामा मात्र छलफल हुने बटमलाइन दोहो¥याएका थिए । ‘मलाई विधानले अध्यक्ष छाड्न दिँदैन, त्यसैले मेरोतर्फबाट सम्झौता हुँदैन, बरु जे–जे छाड्ने हो, तपाईंहरूले नै छाड््नुस्, सहमतिका लागि छलफल सुरु गर्ने हो प्रस्ताव तयारीका लागि सचिवालय बैठक बोलाउँ’ प्रधानमन्त्रीको यस्तो भनाइपछि संवाद तिक्तताउन्मुख भएको उनीनिकट एक नेताले बताए । 

जवाफमा प्रचण्डले स्थगित स्थायी कमिटी बैठक सुचारु गरेर केन्द्रीय कमिटी बैठकबाटै हल खोज्नुपर्ने धारणा राखेका थिए । ‘स्थायी समितिले नै बोलाएको अर्को बैठक परामर्शविना तपाईंले रोक्नुभो, त्यसैले छलफल सुचारु गरेपछि मात्रै हुन्छ, विधानकै कुरा गर्ने हो भने केन्द्रीय कमिटी बैठकको माग भइसकेको छ, त्यहाँ जाउँ, छलफल गरौँ,’ प्रचण्डको जवाफ थियो । तर, विधानलाई आफ्नोअनुकूल व्याख्या गर्नुको औचित्य नहुने ओलीको भनाइ थियो ।

समाधानको सट्टा वार्ता तिक्ततातर्फ उन्मुख हुन लागेपछि मंगलबार बेलुकी ५ बजे बस्ने गरी बैठक टुंगिएको थियो । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । उपनेता नेम्वाङले छलफल सकारात्मक भएको दाबी गर्दै प्रचण्डकै प्रस्तावअनुसार मंगलबारका लागि पुनः छलफलको समय निर्धारण गरिएको जानकारी दिए ।

‘स्वयं प्रचण्ड कमरेडले आजको यो स्थितिमा गुलियो मुखबाटै उठौँ, भोलि ५ बजे फेरि बसौँ भनेपछि उठेर हिँडिएको हो,’ नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘हिजो टुंगिनुपथ्र्यो टुंगिएन, त्यसैले कसैले टुंगिएन नि त भन्न सक्ला, आज टुंगिनुपथ्र्यो टुंगिएन, त्यस अर्थमा आज त टुंगिएन नि भन्ला, सबैको आ–आफ्ना व्याख्या होला, तर मलाई सोध्नुहुन्छ भने वार्ता सकारात्मक र हार्दिकतापूर्ण छ ।’ 

उनले छलफल निष्कर्ष आउने दिशामा प्रवेश गरेको–नगरेको विषयमा स्पष्ट पार्न चाहेनन् । ‘त्यस्तो कुनै नयाँ ठोस निष्कर्ष निस्किएको छैन, विषयभित्र मलाई प्रवेश नगराउनुस्, जुन दिन टुंगिन्छ त्यो दिन आइहाल्छ,’ नेम्वाङले भने । नयाँ पत्रिका दैनिकमा शुरोजङ्ग पाण्डेले लेखेका छन् ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्