रंगशाला निर्माणको सहयोगार्थ मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने



काठमाडौं : धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता यसै महिना हुने भएको छ। यही चैत २३ गते हुने उक्त प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सम्मिलित नेपाल ‘ए’ र नेपाल ‘बी’ टोलीबीच प्रतिस्पर्धा गराउने फाउण्डेशनद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष सीताराम कट्टेल (धुर्मुुस)ले जानकारी दिए।

भरतपुर नगरपालिका–१५ रामपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। सो कपमा कप्तान पारस खड्काको कप्तानीमा नेपाल ‘ए’ र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीले नेपाल ‘बी’ बाट खेल्नेछन्। उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

कप्तान खड्काको टोलीमा शरद भेषावकर, अनिलकुमार साह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहोरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की छन्।

त्यस्तै उपकप्तान मल्लको टोलीमा विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भीम सार्की, पवन शर्राफ, विक्रम शोव, सुर्शन भारी, दिलीप नाथ र प्रदीप ऐरी छन्।

फाउण्डेशनले सोही दिन कलाकारको पनि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गर्नेछ। कलाकारको टोलीलाई पनि दुई टोलीमा विभाजन गरिएको छ । कलाकार टोलीको प्रतिनिधित्व कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन्। 

मदनकृष्ण कप्तान रहेको टोलीमा सुनील थापा, राजेश हमाल, अनमोल केसी, बद्री पङ्गेनी, सत्यराज आचार्य, मणिराम पोखरेल, शिवहरि पौडेल, निर्मल शर्मालगायतका कलाकार सहभागी हुनेछन्। 

त्यसैगरी हरिवंशको टोलीमा निर शाह, भुवन केसी, सरोज खनाल, किरण केसी, आर्यन सिक्देल, दयाहाङ राई, निश्चल बस्नेत, गौरभ पहरी, हेमन्त राना, हेमन्त श्रेष्ठ, पल शाह लगायतको कलाकार सहभागी छन्। 

प्रतिक्रिया दिनुहोस्