आजदेखि आठ दिन विभिन्न कार्यक्रम गरि गाइजात्रा मनाइँदै



काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यसैगरी सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

काठमाडौँ उपत्यकामा बढी प्रचलन भए पनि नेवार समुदायको बसोबास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै छ ।

भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्यमुख्य सहरमा मनाउने गरिन्छ ।

कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होसियारीपूर्वक मनाउनुपर्ने भएको छ। भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा छ ।

सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा धुमधामका साथ नहुने भएको छ ।

सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइने छ । विगतमा बालकको सहभागिता अधिक हुने गरे पनि यस वर्ष बालकलाई सहभागी गराउन समस्या भएको छ।

एक वर्ष अघिदेखि दिवङ्गत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन् ।

गाईजात्राका सम्बन्धमा विभिन्न भनाइ प्रचलित भए पनि राजा प्रताप मल्लसँग जोडिएको प्रसङ्ग भने बढी चर्चामा छ । मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजा मल्लले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । यो देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने भनाइ छ ।

राजा मल्लले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ । यो चलन चलाउँदा पनि रानी पूर्णरुपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने विश्वास छ ।

राजा मल्लकी रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट लैजान सुरु गरिएको काठमाडौंका मानिसका गाईजात्रा अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै लैजाने चलन कायम रहेको छ ।

आजको दिन कतिपय मानिसले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन् । गाईजात्राकै अवसर पारेर पाटनमा भने सत्ययुगदेखि सङ्कलन गरिएको विश्वास गरिने धान र चामल सार्वजनिक प्रदर्शनमा राख्ने गरिन्छ ।

यस अवसरमा विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यात्मक विशेषाङ्क निकाल्छन् भने हास्यसमूहले हप्ता दिनभन्दा बढी गाईजात्रा कार्यक्रम चलाउँछन् ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका विभिन्न स्थानका अतिरिक्त काभेपलाञ्चोकका बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवकोटको त्रिशूलीबजार, पाल्पा, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा मनाउने गरिन्छ ।

नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्