गणितीय खेलमा अल्झियो नेकपा विवाद : ओली अनुकूल बढ्दो माहोल



काठमाडौं : सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पूर्ववत् अडान र नयाँनयाँ प्रस्तावले विवाद थप जटिल बनेको छ ।

आइतबार र सोमबारको छलफलमा उनीहरु एकअर्कामाथि दबाब बढाउने ढंगले प्रस्तुत हुँदा छलफलले निकास दिन सकेन ।

प्रधानमन्त्री समेत रहेका ओलीले एक पद छाड्नुपर्ने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको माग र दुवै पद नछाड्ने ओलीको अडान यथावत छ ।

दुई पक्षको आआफ्नो अडानबाट बल्झेको विवादमा अब नयाँ विषयले पनि प्रवेश पाएको छ ।

पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी वा महाधिवेशन कहाँबाट हल खोज्ने भन्नेमा ओली र प्रचण्डबीच थप विवाद भएको छ ।

यसमा दुवै समूहका आ आफ्ना रणनीति र एकअर्कामाथि दबाब बनाउने रणनीति देखिन्छ ।

स्थगित भएको स्थायी कमिटी बैठकको तत्काल मिति तोक्न र केन्द्रीय कमिटी बैठक बोलाएर समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई पछिल्ला संवादमा अध्यक्ष प्रचण्डको आग्रह छ । उनले लामो समय बैठक स्थगित गर्दा सन्देश राम्रो नजाने बताएका थिए ।

यता पहिला सचिवालयमा छलफल गर्ने र त्यसपछि मात्रै स्थायी कमिटी बैठकको मिति तय गर्नुपर्ने ओलीको अडान छ ।

केन्द्रीय कमिटी बैठक तत्काल सम्भव नभएको ओलीको जवाफ छ । बरु, ओली सबै विवाद यसअघि केन्द्रीय कमिटीले तय गरेको चैत्रको महाधिवेशनमा लगेर टुंगाउने योजनामा छन् ।

सचिवालय र महाधिवेशनबाट विवादको समाधान खोज्ने प्रस्तावमा ओलीका दुई रणनीति रहेको प्रचण्ड पक्षको बुझाइ छ ।

पछिल्लो समय सचिवालयमा ओलीको बहुमत छ । उपाध्यक्ष वामदेव गौतमले ओलीलाई सहज हुने गरी ६ बुँदे प्रस्ताव अगाडि सारेपछि सचिवालयमा ओलीको बहुमत पुगेको देखिन्छ ।

सचिवालय सदस्य रामबहादुर थापा पनि तत्काल पार्टी विभाजन रोक्न ओलीलाई हटाउन नहुने तर्क अगाडि सारेका छन् । यसरी सचिवालयमा छलफल हुँदा तत्काल ओलीका पक्षमा निर्णय हुने अवस्था छ । यसैले ओली सचिवालय बैठक बसाल्ने अडानमा छन् ।

यसबाहेक ओलीको अर्को रणनीति अर्ली महाधिवेशन वा नियमित महाधिवेशनबाट शक्ति बाँडफाँटको पक्षमा छन् । विवादलाई महाधिवेशनतिर मोड्न सके तत्काल पार्टी अध्यक्ष वा प्रधानमन्त्री दुवै पद छाड्न नपर्ने ओलीको बुझाइ छ ।

यो रणनीतिबारे जानकार प्रचण्ड र नेपाल समूहले मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव अस्वीकार गरिसकेको छ ।

उता प्रचण्ड र नेपाल समूह स्थायी र केन्द्रीय कमिटीबाट नै निकास खोज्नुपर्ने पक्षमा छ । गौतम र थापा ओलीतिर लागेपछि प्रचण्ड र नेपाल समूह सचिवालयमा अल्पमतमा छ । तर, स्थायी र केन्द्रीय कमिटीमा उनीहरुको बहुमत छ । त्यसकारण सबै विवाद स्थायी र केन्द्रीय कमिटीमा लैजाने तयारी यो समूहको छ ।

स्थायी वा केन्द्रीय कमिटीको बैठक बसे आफू अनुकूल निर्णय हुने प्रचण्ड र नेपाल समूहको विश्वास छ । त्यसैले यो समूह जसरी पनि स्थायी वा केन्द्रीय कमिटी बस्नुपर्ने अडानमा छ ।

पछिल्लो पटक साउन १३ मा प्रचण्डले नेपाल समूहले गरेको स्थायी कमिटी बैठकमा २९ सदस्य सहभागी थिए । ४४ सदस्यीय स्थायी कमिटीमा यो सुविधाजनक बहुमत अंक हो ।

प्रचण्डले बहुमत स्थायी कमिटी सदस्यहरूको बैठक गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि ओली र प्रचण्डबीच संवाद नै टुटेको थियो । पाँच दिनपछि उनीहरुवीच साक्षी राखेर आइतबार छलफल भए पनि अहिलेसम्म कुनै प्रगति भएको छैन ।

दुबै पक्ष गणितीय खेलतिर केन्द्रित देखिन्छन् । पार्टी बैठकबाहेक नेकपामा अंकगणितको हिसाब संसदीय दलमा समेत छ । संसदीय दलमा अहिलेसम्मको अंकगणितमा ओली झिनो मतले अल्पमतमा छन् । यद्यपि पूर्व माओवादी समूहका केही नेताहरुको साथ पाएको ओली समूहले संसदीय दलमा आफूहरु बहुमतमा रहेको दाबी गरेको छ ।

तर, प्रचण्ड नेपाल समूह संसदीय दलमा आफूहरुसँग बलियो बहुमतमा रहेको दाबी गर्छ । बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि सोमबारको छलफलबाट उठेका नेता मंगलबार फेरि छलफलमा बस्ने बुझिएको छ ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्