एएफसी कपका लागि मनाङको टोली घोषणा



काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबले एसियाली फुटबल महासंघ (एएफसी)कप खेल्ने २१ जना खेलाडीको सूची एएफसीमा पठाएको छ। शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको मनाङले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै २१ खेलाडीको सूची मंगलबार सार्वजनिक गरेको हो।

लिगको उपाधि यात्रामा समावेश अधिकांश खेलाडीको नाम समावेश गर्दै मनाङले नाम पठाएको जनाएको छ। क्लबका अनुसार २१ सदस्यीय खेलाडीमा गोलकिपरमा विशाल श्रेष्ठ, अशोक बराल र दीप कार्की, डिफेन्डरमा विराज महर्जन, कमल श्रेष्ठ, सुरज विश्वकर्मा, मोहमद सफी, प्रवेश कुँवर, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र अजिज साहिद छन्। मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अभिषेक रिजाल र शिव श्रेष्ठ र फरवार्डमा अजिज ओलावले, विमल राना र एडिलाजा सोमिडे छन्। 

एएफसी कपको समूह ‘डी’मा रहेको मनाङले बंगलादेशको अबहानी लिमिटेड र भारतको मिनेरभा मञ्जाब र चेन्नई एफसीसँग ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ। समूह चरणको पहिलो खेलमा मनाङले बंगलादेशी लिग च्याम्पियन अबहानी लिमिटेडसँग यही चैत २० गते ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ। त्यसपछिका खेलतालिका भने सार्वजनिक गरिएको छैन्। 

प्रतिक्रिया दिनुहोस्