स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश



स्पेन : स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ । केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए ।

८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बीबीसीले बताइएको छ ।

अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन् ।

साउदी अरेबियामा एउटा हाइ-स्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको थियो ।

पूर्व राजाले स्पेन कहिले छाड्ने छन् वा उनी त्यसपछि कहाँ बस्नेछन् भन्ने विषय स्पष्ट भएको छैन ।

बीबीसीका युरोप संवाददाता नीक बीकका अनुसार कुशलतापूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म डो¥याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन हो ।

करिब ४० वर्ष राज गरेपछि कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।

आफ्ना ज्वाईँ मुछिएको भ्रष्टाचारसम्बन्धी अनुसन्धान र स्पेनमा आर्थिक मन्दीका बेला विवादास्पद हात्ती सिकार यात्रापछि उनले गद्दी त्यागेका थिए ।

सन् २०१४ मा गद्दी त्याग गरेपछि ख्वान कार्लोसको साउदी अरेबियास्थित परियोजनामा संलग्नता स्थापित गर्ने आफूहरूको उद्देश्य रहेको स्पेनको सर्वोच्च अदालतले बताएको छ ।

स्पेनको एउटा कम्पनीले मक्का–मदिना रेल निर्माणका लागि ६.७ अर्ब युरो बराबरको ठेक्का पाएको थियो ।

अनुसन्धानमा स्विस व्याङ्कहरू पनि सामेल छन् ।

स्पेनका भ्रष्टाचारसम्बन्धी मामिला हेर्ने अधिकारीहरूले पूर्व राजाले स्विट्जर्ल्यान्डमा अघोषित धन राखेको हुन सक्ने शङ्का गरेका छन् । यस विषयमा अनुसन्धान जारी छ ।

स्पेनको सरकारले ‘न्याय सबैका लागि समान रहेको’ बताएको छ र उसले सोधपुछमा ‘हस्तक्षेप नगर्ने’ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्