माइभ्याली गोल्डकपको उपाधि क्यामरुनी टिम दाउफिन्सलाई



इलाम : क्यामरुनी टिम दाउफिन्स एफसीले इलाममा सम्पन्न पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि जितेको छ।  सदरमुकामको ठूलो टुँडिखेलमा मंगलबार सम्पन्न फाइनलमा हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै दाउफिन्सले उपाधि कब्जा गरेको हो।

खेल अवधिभर शेर्पालाई आफ्नो कब्जामा पारेको दाउफिन्सका यान्मिक ओवोन्ना र पेटंगाले १–१ गोल गरे। पहिलो पटक इलामे मैदानमा उत्रिएको दाउफिन्स र शेर्पा दुवैले इलामे दर्शकको समर्थन पाएका थिए। विजयी हुँदै दाउफिन्सले नगद ७ लाख रुपैयाँको ‘मेयर्स प्राइज’ हात पारेको छ। शेर्पाले उपविजेता हुँदै ४ लाख नगदमा चित्त बुझायो।

फाइनल खेलको म्यान अफ् दि म्याच हिमालयन शेर्पाका भीषण गुरुङ घोषित भए। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी हिमालयन शेर्पाका गोलकिपर किशोर गिरी घोषित भए। उनले १ सय ६० सिसिको अपाची मोटरसाइकल हात पारे। उत्कृष्ट गोलरक्षक दाउफिन्सका पिसो, डिफेन्डर दाउफिन्सकै ओको बोटा, मिडफिल्डर शेर्पाका त्रिदेव गुरुङ, फरवर्ड दाउफिन्सका पेटंगा र प्रशिक्षक दाउफिन्सकै वाम्बा घोषित भए।

प्रतियोगिताभर ४ गोल गरेका शेर्पाकासुनील खड्काले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। विजेताहरूलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। गत फागुन २६ मा सुरु पाँचौं संस्करणमा १० टिम सहभागी थिए। 

प्रतिक्रिया दिनुहोस्