प्रधानमन्त्रीद्वारा जनस्वास्थ्य विज्ञसँग परामर्श शुरु



काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श थालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइए पनि उनी अहिलेसम्म बालुवाटार पुगिसकेका छैनन् ।

साढे चार महिना लामो लकडाउन अन्त्यसँगै समुदाय स्तरमै कोरोना सङ्क्रमण र मृत्यु दर एक्कासी बढेपछि सर्वत्र चिन्ता व्याप्त छ । सङ्घीय राजधानी काठमाडौंमा समेत एक्कासी कोरोनाको सङख्या बढेपछि प्रधानमन्त्री ओलीले स्वास्थविज्ञ तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग परामर्श थालेका हुन् ।

बालुवाटार छलफलमा सहभागी जसपा अध्यक्ष महन्थ ठाकुर र काँग्रेस सभापति शेरबहादुर देउवा ।

त्यस छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईले कोरोनाको अवस्थाबारे जानकारी गराएका छन् । उनले प्रत्येक दिन १८ हजार जनाको पीसीआर परीक्षणका लागि प्रयोगशाला स्थापना भएको बताउँदै अहिलेसम्म चार लाखको हाराहारीमा पीसीआर परीक्षण भएको बताए ।

कोरोना सङ्क्रमण बढेपछिक लकडाउन पुनः गर्ने नगर्ने वा कसरी अगाडि बढ्ने विषयमा प्रधानमन्त्रीले राय सुझाव लिइरहेका एक नेताले बताए ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्