स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्यो सार्वजनिक अपिल



काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद व्यक्तिलाई कोरोना परीक्षणका लागि आग्रह गरेको छ ।

मन्त्रालयका तर्फबाट सह प्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्गलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । शङ्कास्पद सङ्क्रमित बिरामीहरुको खोजपडताललाई तीव्र बनाइएको भन्दै मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब सङ्कलनमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।

‘कोभिड १९ महामारी सङ्क्रमण बढिरहेको हालको अवस्थामा काठमाडौँ उपत्यकामा समेत यसको जोखिम बढिरहेको छ । सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कने र भीडभाड नगर्ने, चाडपर्वहरु घरमै बसी मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यो अपिल गर्दछ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यस सम्बन्धमा शङ्कास्पद सङ्क्रमितहरुको खोजपडताल गर्ने काम तीव्र बनाइएको भन्दै विज्ञप्तिमा भनिएको छ–‘शङ्कास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु जोखियुक्त स्थानहरुबाट आउनुभएका व्यक्तिहरुले नजिकको स्वाब सङ्कलन केन्द्रमा बिहान ९ बजेदेखि १ बजेसम्म गई स्वाब परीक्षणमा सहयोग गर्न सर्वसाधारण÷अस्पतालहरुमा सबैमा यो अनुरोध गरिन्छ ।’

मन्त्रालयले स्वाब सङ्कलनका लागि राजधानीका विभिन्न १४ अस्पतालको नामसमेत उल्लेख गरेको छ । पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, प्रसूति गृह, स्टार अस्पताल, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब सङ्कलन केन्द्रको रुपमा मन्त्रालयले तोकेको छ ।

यस्तै सम्पूर्ण हव अस्पतालहरु, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड लेभल अस्पताल १,२,३ अस्पतालहरुलाई पनि मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब सङ्कलन केन्द्रको रुपमा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्