निषेधाज्ञा पश्चात सुनसान जनकपुरधाम (फोटोफिचर)



जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम मंगलबार बिहानैदेखि सुनसान भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि लागू हुनेगरि नगर क्षेत्रमा निषेधाज्ञा लगाएपछि बजार क्षेत्र सुनसान देखिएको हो । भिडभाड देखिने नगर तथा बजार क्षेत्र निषेधाज्ञा पश्चात मंगलबार बिहानैदेखि सुनसान देखिएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिएपछि नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । ‘आगामी एक हप्तासम्मलाई नगरक्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ’ उनले भने ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार रातिदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिकाको पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षीरेश्वरनाथ नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जाने बाटो (दूधमति पुल) दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासत्ती मन्दिर, प्रदेशसभा जाने मोडको बिचसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिए ।

निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन र पसलहरु बन्द गरिएको छ । आज बिहानैदेखि जनकपुरमा औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकका अन्य सम्पूर्ण सेवा बन्द भएका छन् ।

जनकपुरको प्रमुख चोकहरुमा एक हजारको संख्यामा परिचालित नेपाल प्रहरी र शसस्त्र प्रहरीले सर्वसाधारणलाई आवत जावतमा कडाई गर्दै चेकजाँच गरिरहेका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ को तथ्यांक अनुसार धनुषामा सोमबारसम्म ७ सय २९ जना कोरोना संक्रमित भएका छन् भने ५ सय ७९ जना निको भएर आ–आफ्नो घर फर्किसकेका छन् । त्यस्तै यस जिल्लाका शहिदनगर नगरपालिका–८ डुमरियाका एक ३८ बर्षिय युवकको कोरोना संक्रमणका कारण मृत्यु समेत भईसकेको छ ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्