काँग्रेस सभापति देउवाको सरकारलाई सातबुँदे सुझाव



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सातबुँदे सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले मङ्गलबार बोलाएका बैठकमा सहभागी भएका देउवाले यस्तो सुझाव दिएका हुन् । कोरोना सङ्क्रमण एक्कासी बढेपछि लकडाउन गर्ने नगर्ने वा कोरोना रोकथामका लागि अपनाउनुपर्ने उपायका बारेमा जनस्वास्थविज्ञसँग राय परामर्श लिन प्रधानमन्त्री ओलीले बैठक बोलाएका थिए ।

त्यस बैठकमा जनस्वास्थ्यविज्ञसँगै काँग्रेस सभापति देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । सभापति देउवाले हालसम्मको कमीकमजोरीको समीक्षा गर्दै स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको ढाकछोप नगरी छानबिन र कारबाही गर्न माग गरेका छन् ।

यस्तै आरडीडी परीक्षण अन्त्य गरी प्रत्येक प्रदेशमा एक लाख जनाको पीसीआर परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक व्यवस्था मिलाउन, स्वास्थ्य सामग्रीको पर्याप्त प्रवन्ध गर्न, आइसोलेसन र भेन्टिलेटरको व्यवस्था गर्नसमेत देउवाले सुझाव दिएका छन् ।

मापदण्डअनुरुप क्वारेन्टाइनको व्यवस्था, विभिन्न जायज माग राखी अनसन बसेका युवाको भावना तत्काल सम्बोधन गर्न र वर्ग, क्षेत्र र परिस्थिति हेरेर राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गर्न सभापति देउवाले सुझाव दिएका काँग्रेसका मुख्यसचिव कृष्णचन्द्र पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्