थकालीहरुको मौलिक खेल ‘तारो हान्ने’ सुरु



म्याग्दी : नेपालका अल्पसंख्यक थकाली समुदायहरुले महत्वका साथ मनाउने तोरनल्ह (फागु पूर्णिमा) पर्वमा म्याग्दीका थकाली समुदायले आफ्नो जातीय पहिचान र मौलिकता झल्कने ‘तारो हान्ने’ खेलको आयोजना गरेका छन्। 

फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरनल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको हो। थकाली सेवा समिति बेनी क्षेत्रले आयोजना गरेको तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरे।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले संख्यात्मक हिसाबले न्यून भए पनि सांस्कृतिक रुपमा धनी थकाली समुदायको मौलिक कला र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताए। प्रजिअ लीलाधर अधिकारीले धर्म, संस्कृति, रीतिरिवाज संरक्षणमा जोड दिए।

कार्यक्रममा पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, थकाली सेवा समितिका केन्द्रीय सदस्य हिक्मत शेरचन, बेनी नगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र मगर संघका उपाध्यक्ष डगमाया पाइजाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्यमा निर्वाचित हिक्मत शेरचन र दरवाङ क्षेत्रका अध्यक्ष विनोद भट्टचनलाई सम्मान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्