२४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिए, उपत्यकामा ६२ जना



काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

नियमित प्रेस ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६ सय ८७ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा ६२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा मात्र ५९ जना, ललितपुरमा १ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६५ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ । भने मोरङको विराटनगर महानगरपालिका-५ आदर्श टोलका ७७ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो र स्वासप्रस्वास समस्याका कारण सोमबार उपचारका लागि कोशी अञ्चल अस्पताल, विराटनगरमा भर्ना भएका उनको मृत्यु भएको हो । उनको मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्