ब्रह्मदेव सीमा विवादबारे नेपाल-भारतबीच छलफल



कैलालीः कञ्चनपुरको ब्रह्मदेवमा देखिएको सीमा विवादबारे नेपाल-भारतका अधिकारीबीच मंगलबार अनौपचारिक छलफल भएको छ ।

छलफलमा सीमालाई व्यवस्थित गर्ने, दशगजामा निर्माणको काम नगर्ने, सीमा नक्सांकनको कामलाई चाँडै निरन्तरता दिने र तस्करीलगायतका अवैध कामलाई रोक्ने सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।

उनले ‘एसएसबी’ आफैं नेपाल आएर जनतासँग छलफल गर्न खोज्दा बढी विवाद हुने गरेको बताउँदै आगामी दिनमा सशस्त्र प्रहरीमार्फत आफ्ना गुनासो राख्ने सहमति भएको पनि बताए । एक साताअघि भीमदत्त नगरपालिका-९, ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तारबारकाक्रममा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि विवाद चर्किएको थियो ।

छलफलमा सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीलाई गस्ती गर्न दिइने सहमति भएको बताइएको छ । सामुदायिक वनमा तारबारकाक्रममा एसएसबीले हस्तक्षेप गरेपछि ब्रह्मदेवका स्थानीयले भारतीय सुरक्षाकर्मीलाई गस्ती गर्न अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्