चालक लाइसेन्स वितरण कार्य स्थगित



काठमाडौं : यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य स्थगित गरेको छ ।

आइतबारदेखि काठमाडौं उपत्यकाका चारवटै यातायात कार्यालयले सेवाग्राहीको अत्यधिक भीडका कारण लाइसेन्स वितरण कार्य तत्कालका लागि स्थगित गरेको जनाएका हुन् ।

कोरोनाभाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन ।

सरकारले कार्यालय खोल्ने निर्णय गरेसँगै कार्यालयले असारदेखि सेवा दिँदै आएका थियो ।

एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीका अनुसार कार्यालयमा अत्याधिक भीडका कारण खटिएका सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न समस्या भएको थियो ।

काठमाडौं उपत्यकामा संक्रमण बढिरहेकाले यहाँसँगै जगाती, सुकेधारा र ठूलोभ-याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरिएको उनले बताए ।

कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उनको भनाइ छ ।

नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ । कुपन लिएका दैनिक २ सय ५० सेवाग्राहीको नवीकरण भइरहेको छ ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्