राम मन्दिरकाे शिलान्यासमा सरिक हुन चाँदीको इँटासहित महन्थ दास अयोध्या प्रस्थान



जनकपुरधामः राम जन्मभूमी भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माणको शिलान्यास (भुमीपूजन) मा सहभागी हुन जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव आज (मंगलबार) अयोध्या प्रस्थान गरेका छन् ।

श्रीराम जन्म भूमि तीर्थ क्षेत्रले जानकी मन्दिरका महन्थ दासलाई भूमि पूजन कार्यक्रममा सहभागीता जनाउनलाई निमन्त्रणा पठाएपछि उनी अयोध्या तर्फ प्रस्थान गरेका हुन् ।

चाँदीको १ किलोको पाँच वटा इँटा, जनकपुरधामको माटो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मान पत्र सहित महन्थ दास ३ जनाको टोली लिएर अयोध्या प्रस्थान गरेका हुन् ।

राम मन्दिरको भूमिपूजनमा जनकपुरधामबाट समेत माटो पठाउन अयोध्याबाट आमन्त्रण पत्र आएपछि जानकी मन्दिरका महन्थ दासले माटो र इँटा लिएर अयोध्याको लागि प्रस्थान गरेका हुन् ।

जय श्री राम लेखिएको झण्डा सहित महन्थ दासको टोली जटही नाकाको लागि प्रस्थान गरेको छ । त्यहाँबाट अर्को सवारीमा अयोध्या जाने कार्यक्रम रहेको छ । विश्व हिन्दु परिषदले समेत जानकी मन्दिरका महन्थलाई अयोध्याको राम मन्दिर भूमि पूजनमा सहभागी हुन आमन्त्रण गरेपछि महन्थ दास आफ्ना टोली सहित अयोध्या प्रस्थान गरेका हुन् ।

जानकी मन्दिरबाट अयोध्या प्रस्थान गर्नुअघि महन्थ दासले भने ‘बर्षौंको प्रतिक्षा पछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजन कार्यक्रममा सम्पूर्ण मिथिलावासीको प्रतिनिधित्व गर्न पाउँदा कृतार्थ भएको छु ।’ यसअघि राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन महन्थ दास सोमबार महोत्तरीको भिठामोड नाका भएर जान खोज्दा नेपाली सीमा नकट्दै उनलाई फेरी जनकपुरधाम नै फर्काइएको थियो ।

गाडीको पास र पीसीआर परिक्षणको रिपोर्ट नरहेकोले आफूलाई सोमबार सीमाबाट फर्काइएकोे महन्थ दासले बताए । उनले अब आफू गाडीको पास र पीसीआर परिक्षणको रिपोर्ट लिएर अयोध्या जान लागेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोली राम मन्दिरको शिलान्यास गर्नेछन् । काशिको सरयुग घाटमा उत्तर प्रदेश सरकारले निर्माण गर्न लागेको राम मन्दिर तीन मन्जिलको रहने र मन्दिरको उचाइ १ सय ६१ फिट, चौडाइ २ सय ३५ फिट र लम्बाइ ३ सय ६० फिटको रहने बताइएको छ । मन्दिरको मूल ढोका भने पुरातात्विक हिसाबबाट बनाइने छ । मन्दिरका कुल खम्बा ३ सय १८ वटा रहनेछन् भने हरेक तल्लामा १ सय ६ खम्बा रहेछन् । मन्दिर जमिनभन्दा १७ फिट उचाइमा बन्नेछ । जसको दोस्रो तल्लामा राम दरबार रहनेछ । करीब ६९ एकड जमिनमा बन्ने यो मन्दिर विश्वकै लागि ऐतिहासिक हुने दाबी गरिएको छ ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्