कैलालीको बाढी पीडित अन्नको जोहो गर्न भिजेको धान सुकाउँदै



टीकापुरः कैलालीका बाढी पीडित सत्यनारायण चौधरी ३ दिनदेखि सडक किनारमा धानको विस्कुन सुकाई रहेका छन् ।

यही साउन १४ गते आएको बाढीले उनको घर डुबानमा पर्दा घरभित्र रहेका सबै अन्नपात भिज्नुको साथै नष्ट भएको थियो । वर्षभरी खान पुग्ने गरी भण्डारण गरिएको खाद्यान्न पानीले भिजेपछि खाद्य जोहोको लागि उनले आकाशमा घाम देखा परेसँगै अन्न घरबाट निकाल्दै सडकमा सुकाइ रहेका हुन् ।

१२ जनाको परिवार रहेका चौधरी खाद्यान्न भिजेर नष्ट हुँदा तनावमा छन् । उनले करिव १० क्विन्टल धान सुकाए । उनले भने,‘‘दैनिक वर्षा भइरहेको छ । १० क्विन्टलसम्म अलिअलि सुकाइयो । बाँकी अन्न त उम्रिएको छ, घरभरी पानी भरिएको छ । खाद्यान्न सुकाउने ठाउँसमेत छैन । अलि पर सडकमा लगेर सुकाउन थालेको छु । छिनछिनमा वर्षा हुन्छ, सुकाउन समेत कठिन भएको छ ।’’

उनको परिवारमा यस वर्ष भोकमरी हुने चिन्ता छ । ‘‘यसरी सुकाउन पाए पनि यस वर्ष भोको बस्नु नपर्ला भन्ने हो’’, धान सुकाउँदै गरेका चौधरीले भने,‘‘नत्र भोकमरी हुन्छ, भोकै बस्नुभन्दा भिजेकै भए पनि खाउला ।’’ सीतारानी चौधरीको घरमासमेत पथरैया नदीको पानी पस्दा अन्न राखेको ३ वटा भकारी अर्थात डेहरी भत्कदा करिब १० क्वीन्टल धान नष्ट हुने अवस्थामा पुगेको उनले बताए ।

वर्ष दिन खानलाई राखेको भकारीसहित धान भिज्दा उनी पनि सडक किनारमा धान सुकाउदै दिन विताई रहेका छन् । पानीले धान भिजाएको हुनाले सोही धान खान सुकाउदै केलाउदै खाद्यको जोहो गरिरहेका छन् । बाढी ग्रसित क्षेत्रमा अधिकांस बाढी पिडितको पानीले भिजेको धान सुकाउनुपर्ने अनिवार्यसँगै बाध्यता छ ।

भिजेको अन्नपात सुकाउनु पर्ने भएकाले सडकमा पालो कुरेर सुकाउनुपर्ने अवस्था सिर्जना भएको छ । अहिले खाद्य जोहो गरेको अन्न भिजेर नष्ट हुने अवस्थामा रहेकोले पानी नभएको स्थानको सडकमा सुकाइरहेको ज्ञान बहादुर रावलले बताए । उनीहरु जस्तै भजनी, जोशीपुरको बाढी पिडितको समस्या छ । बाढीको सतह घटेको स्थानमा यसरी नै अन्नको जोहो गर्न घाममा अन्न सुकाउदै, राख्दै अन्नको अभाव टार्न बाढी पिडित लागि परेको बताइएको छ ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्