राजपा संयोजकमा भण्डारी, कार्यभार नसम्हाल्दै दिल्ली!



काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको नेतृत्व अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले सम्हालेका छन्। माघ ६ गते संयोजक बनेका महेन्द्रराय यादवको चैत ६ मा दुई महिना पूरा भएसँगै स्वतः भण्डारी संयोजक बनेका हुन्। 

अध्यक्षमण्डलका सदस्यहरु दुई–दुई महिनामा चक्रीय पद्धतिअनुसार संयोजक बन्दै आएका छन्। सोही क्रममा तेस्रो संयोजकका रुपमा भण्डारीले पार्टीको कमाण्ड गर्दै छन्। यसअघि अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यावद संयोजक बनिसकेका छन्। अध्यक्षमण्डलका सदस्यहरुको बैठकले संयोजक फेरिएको निर्णय भने गरेको छैन।

यतिबेला भण्डारी भने भारतको राजधानी नयाँ दिल्ली छन्। आजको मितिबाट उनी स्वतः संयोजक भएका महासचिव मनीष सुमनले द नेपालटपलाई जानकारी दिए। उनका अनुसार अब आगामी बैठकको अध्यक्षता भण्डारीले गर्नेछन्।

भण्डारीको दिल्लीयात्रा किन?

राजपामा संयोजक बन्नुअघि र पछि दिल्ली धाउने कुरा नौलो होइन। उनको दिल्लीयात्रा पनि त्यसैको निरन्तरताको रुपमा लिएको छ। यसअघिका संयोजक पनि त्यसबाट अछुतो छैनन्। तर मुलकको राजनीति निकै गर्माएका बेला भण्डारीको दिल्लीयात्रा अर्थपूर्ण रुपमा हेरिएको छ। 

राजपाले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएइसकेको छ। आफ्ना सांसद रेशमलाल चौधरी जन्मकैदको सजायसिहत कारागारमा छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक गनुपर्ने र सांसद चौधरीको विषयलाई लिएर अन्याय भएको भन्दै राजपाले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएको छ। 

पृथकतावादी अभियान्ता सीके राउतर सरकारबीच ११ बुँदे सम्झौता भयो। राउत मुलधारको राजनीतिमा प्रवेश गरे। मधेसलाई इलाका बनाएर भ्रमणमा रहेका पूर्वराजा ज्ञनेन्द्र शाहले पनि आफ्नो चहलपहल तीव्र पारेका छन्। ओली सरकारमाथि यतिबेला राजपा आक्रामक बन्दै गएको छ। 

राजपा–ओली सम्बन्ध, फोरमसँगको कार्यगत एकता, आफ्ना सांसद चौधरीको रिहाइको हरसम्भव प्रयासलगायत काम आजबाट बनेका अध्यक्ष भण्डारीको काँधमा आएको छ। यो समय उनका लागि तुलनात्मक रुपमा कठिन छ। साथै राजपाको आन्तरिक राजनीतिमा पनि दिल्लीको राम्रै प्रभाव देखिन्छ। राजपाले वैशाख पहिलो साता एकता महाधिवेशन गर्दै छ।

यी सबै रणनीति तय गर्नु पनि भण्डारीमाथि चुनौती छ। दिल्लीबाट भण्डारीले यसको फिडब्याक पक्कै पाउनेछन्। 

 

प्रतिक्रिया दिनुहोस्