ओली-प्रचण्डबीचको छलफल बिना निष्कर्ष सकियो



काठमाडौंः नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार साँझ भएको छलफल सकिएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुबै अध्यक्षबीच आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । बैठकबाट ठोस निष्कर्ष भने निस्केको छैन ।

नेताहरूले स्थायी कमिटी बैठक राख्न प्रस्ताव गरे पनि ओली राजी भएनन् । उनले स्थायी कमिटीको बैठक राख्ने विषयमा सहमति नजनाएपछि बैठक छलफल टुंगिएको हो ।

प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल र ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साथ राखेर तीन दिनदेखि हरेक दिन छलफल भइरहेको छ । नेताहरुबीच छलफल भएपनि कुनै सहमति भने जुट्न सकेको छैन ।

दुई नेताबीच छलफल भएपनि साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्नेबारे सहमति जुट्न सकेको छैन । ओलीसँगको भेटवार्ताअघि प्रचण्डले मंगलवार बिहान उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेका थिए । नेकपाभित्रको विवादका कारण असार १० गते शुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुने गरेको छ ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्