नेकपामा फेरी अर्को नयाँ विवाद : लगानी बोर्डमा नियुक्तिलाई लिएर ओली–दाहाल चर्काचर्की



काठमाडौँ : सरकारले लगानी बोर्डको कार्यकारी कार्यकारी अधिकृतमा सुशिल भट्टलाई नियुक्त गरेकोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् । मंगलबार साँझ बालुवाटारमा दुई अध्यक्षसहित नेता खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सहभागि वार्ताको सूरुमै लगानी बोर्डको कार्यकारी प्रमुखमा भट्टको नियुक्तिको विषयलाई लिएर चर्काचर्की भएको एक नेताले बताए । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको थियो ।

‘पाँच बजेदेखि ६ बजेसम्म छलफल भएको थियो । सुरुमा केहीबेर तनावको वातावरण भयो । भट्टको नियुक्तिको विषयलाई लिएर गम्भीर आपत्ति जनायौं । कमिसन एजेन्ट, इमेज ड्यामेज भएको मान्छेलाई नियुक्ति गर्ने हो ? पार्टीसँग किन सल्लाह गर्नुभएन ? तपाईंले जे गरे पनि पार्टीले समर्थन गर्छ भन्ने ठान्नु हुन्छ ? अबदेखि यस्ता नियुक्तिमा पार्टीमा सल्लाह गर्नुस् भन्यौं,’ छलफलमा सहभागि ती नेताले भने ।

जवाफमा ओलीले भट्टको बचाउ गरेका थिए । तर, फेरि दाहाल र खनालले त्यसको खण्डन गरेपछि ओलीले कुनै प्रतिक्रिया नजनाएको ती नेताले बताए ।

‘केहीबेरको तनावपूर्ण अवस्थापछि दोस्रो एजेण्डामा प्रवेश गरेको थियो । एजेण्डा स्थायी कमिटी बैठक थियो । हामीले तुरुन्त स्थायी कमिटी बैठक राख्न जोड दियौं,’ ती नेताले भने, ‘उहाँले पहिला सचिवालय बैठक राख्ने त्यसपछि मात्रै स्थायी कमिटी बैठक राख्ने अडान दोहोर्‍याउनु भयो । सचिवालय वा केन्द्रीय कमिटीको जुन बैठक राखे पनि हामीलाई आपत्ति छैन । तर, स्थायी कमिटी बैठक जारी छ । त्यसलाई नटुङ्ग्याई अरुमा जान हुँदैन भनेर हामीले भन्यौं ।’

दुवै पक्षको अडानमा कायम भएपछि बुधबार फेरि छलफल गर्नेगरि वार्ता सकिएको पनि ती नेताले बताए । पाँच दिनपछि संवादमा बसेका ओली र दाहालबीच आइतबार पनि चर्काचर्की भएको थियो । साउन १३ को स्थायी कमिटी बैठक ओली एक्लैले स्थगन र अर्का अध्यक्ष दाहालले बहुमत सदस्यसहित संचालन गरेका थिए । यही विषयलाई लिएर आइतबार ओली र दाहालबीच आरोप–प्रत्यारोप भएको थियो ।

ओलीले एकतर्फी रूपमा बैठक स्थगित गरेकोमा दाहालको असन्तुष्टि थियो भने स्थगित बैठक बहुमत सदस्यका नाममा दाहालले चलाएको भन्दै ओलीले आपत्ति जनाएका थिए । आइतबार करिब आधा घण्टा विवाद गरेपछि ओली र दाहाल नियमित विषयमा छलफलमा जुटेका थिए ।

तर, आइतबार, सोमबार र मंगलबारसम्म तीन दिन लगातार संवाद हुँदा पनि दुवैपक्ष आ–आफ्नो अडानमा जहाँको त्यहीँ छन् । प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ । दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ ।

पछिल्लो समय बामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ । यो बदलिएको समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने पक्षमा देखिएका हुन् । स्थायी र केन्द्रीय कमिटीमा भने दाहाल-नेपाल समूहको बहुमत छ ।

गौतम निवासमा दाहाल

मंगलबार ओलीसँग वार्ता हुनु अगाडि अध्यक्ष दाहाल उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका थिए । गौतमले ६ बुँदे प्रस्ताव अगाडि सारेयता दुई नेताबीच भएको यो पहिलो भेट हो । भेटमा दाहालले ६ बुँदे प्रस्तावको विषयमा चासो राखेका थिए । जवाफमा गौतमले पार्टी र देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन आफूले प्रस्ताव अगाडि सारेको बताएको स्रोतले बतायो ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक साउन १२ सम्म आउँदा गौतम दाहाल समूहमा थिए । तर, साउन १३ अचानक ओलीलाई अनुकूल हुने गरी ६ बुँदे प्रस्ताव अगाडि सारेपछि गौतमको दाहाल–नेपाल समूहसँग सम्बन्ध टुटेको थियो ।

त्यही सम्बन्ध सुधारका लागि दाहाल गौतमलाई फकाउन उनको निवास पुगेको स्रोतले बतायो । गौतमले ६ बुँदे प्रस्ताव अगाडि सारेपछि साउन १३ मा ओली पनि गौतम निवास पुगेका थिए । तर, त्यसैदिन दाहालले बोलाएको स्थायी कमिटी बैठकमा गौतमले ओलीको कार्यशैलीको आलोचना गरेका थिए । गौतम आफूप्रति उदार भएपछि दबाबमा रहेका प्रधानमन्त्री ओलीलाई राहत भएको छ । गौतम ओलीको पक्षमा लागे सचिवालयमा दाहाल नेपाल-समूह अल्पमतमा हुन्छ ।कान्तिपुर दैनिकबाट

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्