तुल्स्यानकाे बिरामी नाटक : डिलक्स क्याबिनमा उपचार !  



     वीरगन्ज हेल्थ केयर अस्पतालको वातानुकुलित (डिलक्स) केबिनमा उपचारार्थ किसान एग्रो केमिकल्सका सञ्चालक श्यामकुमार तुल्स्यान। 

वीरगन्ज : गैरकानुनी उद्योग सञ्चालन गरेको आरोपमा पक्राउ परेका एग्रो केमिकल्स उद्योगका सञ्चालक श्यामकुमार तुल्स्यानलाई जिल्ला अदालत पर्साले पाँचदिने म्याद थप गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ। यसअघि जिल्ला अदालतले फागुन २९ गते सातदिने म्याद थपेको थियो।  

प्रहरी निगरानीमा राखेर तुल्स्यानलाई वीरगन्जको हेल्थ केयर अस्पतालको वातानुकुलित (डिलक्स) केबिनमा राखेर अनुसन्धान भइरहेको छ। जिल्ला अदालतले दुई÷दुई पटक म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएपछि तुल्स्यानलाई प्रहरीले सुविधासम्पन्न हेल्थ केयर अस्पतालमा उपचार गराइरहको छ।  

अदालतबाट ५ दिन म्याद थप गरिएपछि उनलाई पुनः वीरगन्जको गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पतालको सुविधायुक्त केबिनमै राखिएको पर्सा डीएसपी आनन्तराम शर्माले स्वीकारेका छन्। 

प्रमाण नष्ट गर्न सक्ने र आफू पनि फरार हुन सक्ने भएकोले उद्योगी तुल्स्यानलाई पर्सा जिल्ला अदालतले समेत प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न गत फागुन २९ गते बुधबार बाटो खोलिदिएको थियो। 

मंगलबार पुनः अदालतबाट ५ दिनको म्याद थप गरिएको हो। उद्योगमा अवैध ढंगले किटनाशक औषधि उत्पादन र बिक्री वितरण गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत उज्जवलबहादुर बस्नेतको नेतृत्वमा अकस्मात अनुगमन गर्दा बिनाअनुमति उद्योग सञ्चालन हुँदै गरेको, आवश्यक प्रमाणपत्र समेत नलिएको, मिति सकिएका सामान पुनः प्याक भइरहेको फेला परेको थियो। गत फागुन २८ गते नै उद्योगमा शिलबन्दी गर्दै सञ्चालक तुल्स्यानलाई नियन्त्रणमा लिइएको थियो।  

२४ घण्टाभन्दा बढी अदालतको स्वीकृति नलिई प्रहरी हिरासतमा राख्न नपाइने प्रावधानअनुसार उनलाई गत फागुन २९ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको पहिलो म्याद थप गरिएको थियो। ४ जना न्यायकर्मीले बहस गरेपछि प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न पर्सा जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले ७ दिनको म्याद पहिलो पटक दिएको थियो। सात दिनभित्र पनि अनुसन्धान पूरा नभएकोले मंगलबार पुनः ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसी शर्माले बताए। 

पर्सा प्रहरी कार्यालयले भने प्रहरी हिरासतमा नराखी उद्योगी तुल्स्यानलाई गत बुधबार अर्थात् सात दिनको म्याद थप भएलगत्तै बिरामीको भएको निहुँमा हिरासतमा नराखी निजी अस्पतालको सुविधायुक्त कोठामा राख्दै आएको छ। 

प्रहरी प्रशासनको यो कदमप्रति वीरगन्जवासीले भने आर्थिक चलखेलको आशंका गरेका छन्। गरिब तथा विपन्न परिवारको मानिसले भने यो सुविधा प्रहरी प्रशासनबाट पाउन नसक्ने उनीहरुको तर्क छ। धनाढ्यलाई भने अर्थकै कारण बिरामीको बहानामा सुविधायुक्त अस्पतालको कोठामा राखिएको हुन सक्ने उनीहरुको भनाइ छ। 

उपचारको बहानामा रहेका तुल्स्यानको अवस्था समान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकले नाम नछाप्ने सर्तमा बताएका छन्। उपचारको बहानामा हेल्थ केयर अस्पतालको वातानुकुलित (डिलक्स) केबिनमा नम्बर २ मा दैनिक ५ हजार ५ सय बेड चार्ज तिरेर तुल्स्यान समय बिताइरहेका छन्। सुरुमा नारायणी अस्पतालमा उपचार गराउन जाँदा त्यहाँ अवस्था सामान्य रहेको बताइए पनि चकित्सकलाई प्रभावमा पारेर अस्पतालकै पुर्जामा वीरगन्ज हेल्थ केयर अस्पतालमा तोकेरै रेफर गरिएको भेटिएको थियो।

सरकारी अस्पतालले कुनै पनि बिरामीलाई रेफर गर्दा निजी वा सरकारी अस्पतालकै नाम तोकेर रेफर गर्दैन। एक चिकित्सकले भने, ‘राम्रो उपचार हुने अस्पतालमा लैजान सल्लाह दिइन्छ, तर पुर्जामा नाम नै तोकेर रेफर गरिँदैन, कसैले गरेको छ भने त्यहाँ उसको केही स्वार्थ लुकेको हुन्छ।

तुल्स्यानलाई मधुमेह र रक्तचाप बढेको हुनाले अस्पतालमा भर्ना गरिएको दाबी गरे पनि हेल्थ केयर अस्पतालमा भर्नारत अवस्थामा उनको रक्तचाप र मधुमेह नियन्त्रणमा छ। अहिले उनको रक्तचाप ११०÷९० रहेको अस्पताल श्रोतले जनाएको छ। यस्तो अवस्थामा उनको रक्तचाप सामान्य हुन्छ यसले कुनै खतरा हुँदैन। 

तुल्स्यानलाई हिरासतमा राख्नबाट बचाउन ठूलो रकम चलखेल भएको र केही राजनीतिक दलका नेता तथा नेपालमै प्रख्यात व्यापारीसम्म उनलाई छुटाउन लागिपरेका बताइएको छ। बिरामीको नाटक मञ्चन गरी अस्पतालमा भर्ना भएका तुल्स्यानलाई रकमी खेलमा अस्पतालबाटै छाड्ने गरी तयारी भइरहेको श्रोतले दाबी गरेको छ। 

 

प्रतिक्रिया दिनुहोस्