स्रोत नखुलेको १६ लाख नगदसहित सोनार पक्राउ



कपिलवस्तु : स्रोत नखुलेको नगदसहित प्रहरीले कपिलवस्तुबाट एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाँउपालिका–४ स्थित सीमा इलाकाबाट मंगलबार एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ वर्षीय विनोद सोनारलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले सोनारलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका सोनारलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निजले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी रुपन्देहीको कोटहीमाई गाँउपालिका–६ स्थित सीमा इलाकाबाट तीन केजी चाँदी जस्तो देखिने गहनासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको समरीमाई गाँउपालिका ४ बस्ने १८ वर्षीय ईशाद अलि छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मझगावाबाट खटिएको एपीएफ टोलीले निज अलिलाई उक्त चाँदी जस्तो देखिने गहनासहित पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका निज अलिलाई एपीएफ टोलीले जाँच गर्दा उक्त चाँदी जस्तो देखिने गहना फेला परेपछि पक्राउ गरिएको हो ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्