दार्चुला र बैतडी प्रहरीका दुई भ्यान एकआपसमा ठोक्किए



कैलाली : इलाका प्रहरी कार्यालय पाटन बैतडीको बा१झ १२३९ नम्बरको भ्यान र जिल्ला प्रहरी कार्यालय दार्चुलाको ना१झ ५८५ नम्बरको भ्यान एक आपसमा ठोक्किएका छन् ।

बैतडीबाट पाटनतर्फ गइरहेको इलाका प्रहरी कार्यालय पाटनको भ्यान र दार्चुलाबाट बैतडी सदरमुकाम गइरहेको जिल्ला प्रहरी कार्यालयको भ्यान आपसमा जुधेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

मंगलबार बेलुका ७ बजेतिर दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ कठपतेमा ठोक्किएका भ्यानहरुमा दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाही र इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटी सवार थिए ।

भ्यान एकआपसमा ठोक्किए पनि प्रहरी प्रमुखसहित अन्य प्रहरी सुरक्षित छन् । सामान्य चोटपटकबाहेक अन्य क्षति नभएको र ठोक्किएका दुबै भ्यानहरुको अघिल्लो भागमा मात्रै क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना हुनपुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको भ्यान मर्मतका लागि बैतडी सदरमुकामतर्फ गइरहेको र इलाका प्रहरी कार्यालय पाटनको भ्यान जिल्ला अदालतबाट थुनुवाको म्याद थप गरी कार्यालयतर्फ फर्किरहेको बेला दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्