जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठक शुरु



काठमाडौं : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।

ललितपुरको चासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा जसपाको बैठक शुरु भएको हो । जसपामा ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य छन् । साउन २४ गतेसम्म चार दिन चल्ने जसपाको बैठकमा केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पदाधिकारीलाई प्रशिक्षण दिइने बताइएको छ ।

पार्टीको सैद्धान्तिक अवधारणा, एकीकरणको आवश्यकता, आगामी कार्यदिशा, वर्तमान समसामयिक राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा बैठकमा विस्तृत छलफल हुने जसपाका नेता लक्ष्मणलाल कर्णले बताए । प्रशिक्षणमुलक बैठकले पार्टीको विधान र महाधिवेशन लगायतका विषयमा छलफल गर्ने उनले बताए ।

कोरोना संक्रमणलाई ध्यानमा राखेर सामाजिक दुरी कायम राखी हुने त्यस बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा प्रदेश २ का मन्त्रीहरु काठमाडौँ आइपुगेका छन् । बैठकमा सहभागीका लागि प्रवेश शुल्कको रुपमा एक हजार रुपियाँ तोकिएको छ । प्रवेश शुल्क तिरेपछि मात्रै बैठकमा सहभागी गराइने जसपाको सचिवालयले जनाएको छ ।

महन्थ ठाकुरको अध्यक्षतामा हुने त्यस बैठकमा नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र यादव र शरत्सिंह भण्डारी लगायत सहभागी हुनुहुने बताइएको छ ।

यो बैठकपछि साउन २५ र २६ गते जसपाको पदाधिकारीे बैठकसमेत बस्नेछ । पदाधिकारी बैठकले पार्टीको अवधारणा तय गर्नुको साथै राजनीतिक कार्यदिशासमेत तय गर्ने छ । स्थानीय तहको वडासम्म रहेको राजपा र सपाको कमिटीलाई एकीकृत रुप दिएर समायोजन गर्न अपनाउनुपर्ने मापदण्डका विषयमा छलफल हुने सो पार्टीका नेता केशव झाले बताए ।

प्रतिक्रिया दिनुहोस्