मर्न भनेर कैयौंपल्ट मेटासिडका बोतलको बिर्को खोलें : निर्मला 



काठमाडौं : एचआईभी संक्रमण भएसँगै अधिकांशले जीवन सकियो भन्छन् । सपना सकियो भन्छन्। जीवनको आस मार्छन्।  तर १४ वर्षको उमेरमै बिहे गर्न बाध्य भएर एक वर्षपछि नै पतिबाटै एचआईभी संक्रमण भएकी एक युवतीले किशोर वयमै कडा संघर्ष गरिन्। उनको संघर्षले अरू एचआईभी संक्रमितलाई जीउने हिम्मत दिन लागि परिन्। 

यो संघर्षको कथा हो निर्मला पौडेलको। उनको नवलपरासी जिल्लाको गैंडाकोट गाविस–३ ढोडेनीमा २०३९ सालमा भएको थियो। बालखैमा बुवा गुमाएकी उनले चार कक्षाभन्दा माथि पढ्ने अवसर पाइनन्।  पढाउनुको साटो परिवारले १४ वर्षको कल्कलाउँदो उमेरमै जबर्जस्ती बिहे गरिदियो। खाउँखाउँ लाउँलाउँको उमेरकी किशोरी निर्मलाको गैंडाकोटकै २५ बर्से एकनाथ पौडेलसँग बिहे भयो। 

स्कुल जाने र पढ्ने रहर हुँदाहुँदै पनि परिवारको दबाबसामु निरीह निर्मला दाम्पत्यमा बाँधिन बाध्य भइन्। भारतको नयाँदिल्लीमा काम गर्ने एकनाथसँग बिहे उनको जीवन ध्वस्त पार्ने सबैभन्दा ठूलो बज्रपात बन्यो।  विवाहपछि उनको जीवन झन् झन् समस्याग्रस्त बन्दै गयो। एकनाथले कलिली उनीमाथि आफ्नो बलको तुजुक देखाउन कुटपिट गर्ने दिनचर्या नै बनाए। पतिमा मानसिक रोगी भएको थाहा पाएपछि अस्पताल लगेर उपचार गराइन्। 

औषधि खान थालेपछि एकनाथमा केही सुधार भए पनि हरेक पटक ज्वरो आउने, पखाला लाग्नेजस्ता समस्या नियमित जस्तै भए। निर्मलाले उपचारका लागि धेरै अस्पताल पुर्‍याइन्। आफ्ना गरगहना, पेवापात बेचेर पतिको उपचारमा खर्च गरिन्। तर एकनाथलाई बीसको उन्नाइस भएन। बारम्बार उपचार गराउँदा पनि निको नभएपछि डाक्टरहरूको सल्लाहमा उनले पतिको एचआईभी परीक्षण गराइन्। परीक्षणमा एकनाथमा एचआईभी पोजेटिभ देखियो। रिपोर्ट सुनेर निर्मला छाँगाबाट खसिन्। उनलाई आफूमाथि आकाश नै खसे जस्तो भयो। यसपछि निर्मलालाई पनि एचआईभी परीक्षण गर्न डाक्टरले भने।

उनले तुरुन्तै भरतपुर अस्पतालमा एचआईभी परीक्षण गरिन्। त्यसमा एचआईभी पोजेटिभ देखिएन। उनी औधी खुसी भइन्। नयाँ जीवन पाएको अनुभव गरिन्। संसारै जिते जस्तो भयो उनलाई। तर उनको खुसी धेरै टिकेन। उनलाई फेरी परीक्षण गर्न २०५६ सालमा काठमाडौंको टेकुस्थित अस्पताल लगियो। उनको ६ महिनाको गर्भ थियो। टेकु अस्पतालले उनको रगत परीक्षण गर्न भारत पठायो। परीक्षणबाट उनमा एचआईभी पोजेटिभ देखियो।

 एचआईभी भएको थाहा पाएपछि निर्मला कोमामा पुगे जस्तै भइन्। संसार अँध्यारो भयो। बेहोसीमै उनी काठमाडौंबाट गैंडाकोट पुगिन्। धर्ती नै भासियो। बेसहारा अनुभव भयो। लगत्तै पतिको मृत्यु भयो। एकातिर कलिलैमा दाम्पत्यको बोझ बोकेकी उनले उमेर नै नपुगी गर्भावस्था। त्यसमाथि एचआईभी र पतिको निधन हुँदा भएभरका सबै दुःख र कष्ट एकसाथ निर्मलामाथि बज्रिए।  निर्मलाले गर्भवतीले पाउनुपर्ने न्यूनतम आराम, स्वास्थ्य सेवा र सहयोग पाइनन्।

समाजको गलत दृष्टिकोण र अनावश्यक लाञ्छना खेप्नु पर्‍यो। अनेकौंले उनलाई छिछि र दुरदुर गरे। सुरु सुरुमा समाजको घृणा खप्न नसकेर झुन्डिन कैयौंपल्ट डोरि समातिन्, अनेकौपल्ट मेटासिडको बोतलका बिर्कोसमेत खोलिन्। आङ नै सिरिंग हुने अक्करेभीर चढिन् अनि नारायणी किनार पुगिन्।  तर हरेकपल्ट संसार त्याग्ने उनको प्रयासलाई बढेको पेट अझ गर्भमा हुर्किरहेको भ्रुणले छेक्यो।

समाजले लाञ्छना लगाए पनि, छिछि र दुरदुर गरे पनि हुर्कंदै गरेका गर्भको मायाले उनले मृत्युको बाटो त्यागिन् र जीवनमार्गमै फर्किन्। यसै क्रममा उनलाई एचआईभीको क्षेत्रमा काम गर्ने त्रिनेत्र नामको गैरसरकारी संस्थाले साथ दियो। त्यही संस्थाका कर्मचारी तथा स्वयंसेवकले उनलाई घर र माइती दुवैको अभाव खट्किन दिएनन्। गर्भवती उनको हेरचाह त्रिनेत्रले नै गरिदियो। डेलिभरी डेट पनि नजिकियो। उनलाई सुत्केरी व्यथाले च्याप्यो। भरतपुर अस्पतालमा भर्ना गरियो। डाक्टरले उनको अत्यन्त दुर्बल शारीरिक अवस्था देखेर अपरेसन गर्र्न सल्लाह दिए।  निर्मलाले आफू एचआईभी संक्रमित भएको डाक्टरलाई बताइन्। त्यसपछि डाक्टरहरूको व्यवहार नै फेरियो। केहीबेर अघिसम्म ममतापूर्ण व्यवहार गरिरहेका डाक्टरले तुरुन्तै उनलाई अस्पतालबाटै निकालिदिए। 

छुँदैमा, सँगै बस्दैमा एचआईभी सर्दैन भनेर फलाक्दै हिँड्ने डाक्टरहरूको असली, अमानवीय र निर्दयी स्वरूप उनले नजिकबाट देखिन्। घर, टोल छिमेक, माइती सबैतिर जाने बाटोमा उनका अगाडि तगारा लगाइएका थिए।  घरमा बस्न नदिएर उनले गोठमा बस्नु पथ्र्यो। त्रिनेत्रका स्वयंसेवकबाहेक अन्य कसैले पनि उनीसँग असल र मानवीय व्यवहार गर्दैनथे। अस्पतालले निकालिदिएको तेस्रो दिन तिनै स्वयंसेवकको सहयोगमा उनले घरमै स्वस्थ सन्तान जन्म दिइन्। 

कमजोर शारीरिक अवस्था भए पनि उनले सामान्य सुत्केरी भएर स्वस्थ सन्तान जन्माउन सफल भइन्। उनले भगवानलाई लाखौंलाख धन्यवाद दिइन्, उनको छोरामा एचआईभी पोजेटिभ नदेखिएकोमा। उनका छोरा गणेश पूर्ण स्वस्थ जन्मिए।  सुत्केरीका बेला पनि निर्मलाले समाजको विभिन्न लाल्छना र भेदभाव खेप्नु पर्यो । घरपरिवारले नै उनलाई अछुतजस्तो व्यवहार गरे।

भाँडाकुँडादेखि शौचालयसम्म बेग्लै प्रयोग गर्नुपर्‍यो उनले।  परिवार तथा छिमेकीले उनलाई बाहिर घुमफिर नगर, हाम्रा नजिक नआऊ रोग सर्न सक्छ भन्दै छिछि दुरदुर गरे। यस्ता कुराले उनलाई बोक्नै नसक्ने अत्यन्त गह्रौं बोझ बनेर जिन्दगीले नै थिच्न थाल्यो।  तर अबोध, निश्छल छोराको हँसिलो मुहारले उनमा फेरि जिजीविषाले पालुवा हाल्यो। अनि त्रिनेत्र नेपालका कर्मचारी र स्वयंसेवकले उनलाई प्रेरणा र हौसला दिए। सुत्केरीबाट तंग्रिएपछि उनी त्रिनेत्रका गतिविधिमा नियमित सहभागी हुन र एचआईभीबारे जनचेतना फैलाउन थालिन्। 

वि.सं. २०५६ सालमा त्रिनेत्रबाट सुरु भएको उनको यात्रा माइती नेपालमा परामर्शदाता, सक्रिय समूह चितवनको संस्थापक अध्यक्ष, राष्ट्रिय एचआईभी एड्स महासंघ काठमाडौंको केन्द्रीय उपाध्यक्ष, सिसिएम बोर्ड सदस्य हुँदै अहिले लुम्बिनी प्लसमा आइपुगेको छ।  निर्मलाका यी पछिल्ला १६ वर्ष एचआईभी संक्रमितलाई सघाउन, उत्प्रेरित गर्न र आवश्यक सल्लाह सुझाव दिनमा खर्च भएको छ।

किशोर वयमा थाहै नपाई पतिले बोकाइ दिएको एचआईभी संक्रमणमा आफू परे पनि उनी अरूलाई जोगाउन र संक्रमितलाई उत्प्रेरित गर्न, चेतना जगाउन सक्रिय छिन्।  एचआइभी संक्रमण हुनुलाई उनी जीवनको अन्त्य नभई सिर्जनशील र चुनौतीपूर्ण जीवनको सुरुवात मान्छिन्। गाउँगाउँ पुगेर निराश बसेका संक्रमितलाई सहयोग गर्ने, प्रेरणा दिने र अन्यलाई सम्झाउने बुझाउने जस्ता काममा उनको दिन बित्ने गरेको छ।  उनलाई नवलपरासीमा एचआईभी संक्रमितका लागि बलियो सहारा र आडभरोसा मानिन्छ। कुनै बेला आफैं बेसहारा बनेकी निर्मला अहिले सयौंको एक मात्र बलियो सहारा भएकी छन्। 

उनी अहिले एचआईभी संक्रमित बालबालिकालाई आवाससहित शिक्षाको व्यवस्था गर्न सहयोग जुटाइरहेकी छन्। एचआईभी संक्रमित कलिला बालबालिकालाई सघाउन शिक्षा अत्यावश्यक भएको उनले राम्ररी बुझेकी छन्। त्यसैले चिने जानेका र भेटिए जतिसँग उनी सहयोगको याचना गरिरहेकी छन्। एचआइभीसम्बन्धी जनचेतना जगाउन र नियन्त्रणमा उनले पुर्‍याएको योगदानको कदरस्वरूप २०५९ मा थाइल्यान्डमा एचआइभी संक्रमितको सञ्जालले निर्मलालाई सम्मान गर्‍यो। वि.सं. २०६०, २०६१, २०६६, २०६८ र २०६९ सालमा राष्ट्रिय स्तरका विभिन्न संघ संस्थाले उनलाई सम्मान गरिसकेका छन्।

उनलाई २०७० सालमा ‘युवा नेतृत्व’ सम्मान प्रदान गरिएको थियो।  पछिल्लो समय उनको कामलाई सम्मान गर्नेहरू प्रसस्त भेटिन थालेका छन्। जिल्ला विकास समिति नवलपरासीले असल काम गरेबापत २०७१ सालमा सम्मान गरेको थियो। वि.सं. २०७३ सालमा युवा तथा खेलकुद मन्त्रालयले युवा प्रतिभा सम्मानले उनलाई सम्मानित गर्‍यो। पहिला हेला र दुरदुर गर्नेहरूले पनि बोलाएर अहिले गाउँठाउँमा सम्मान गर्ने गरेको उनले सुनाइन्।

  उनको छोरा पनि १९ वर्षको लक्का जवान भइसके। ‘अहिले त छोरा पनि हुर्कियो, ठूलो भयो। मेरो धेरै केयर गर्छ’, उनले भनिन्, ‘छोरा थिएन भने शायद मलाई यति सहज हुँदैनथ्यो होला। छोरा सानो हुँदा साह्रै दुःख पाएँ तर अहिले मेरो छोराले धेरै माया र सहयोग गर्छ।’  आफ्ना भोगाइसमेत निर्मलाले सबैसँग बाँड्ने गरेकी छन्। उनको जीवनमा आधारित ‘द निर्मला’ शीर्षकको चेतनामूलक फिल्म पनि नेपालीमा निर्माण भएको छ। 

कुनै बेला छिछि र दुरदुर गर्ने छिमेकी, परिवारका सदस्य र आफन्त यतिखेर निर्मलासँग नजिकिन चाहन्छन्। उनीसँग जोडिएर उनको नामले आफू चिनिन चाहन्छन्।  संघर्षले निर्मलालाई रुढिवादी समाजमा स्थापित मात्र गराएन, बलियो पहिचान पनि दिलायो। ‘मेरो अनुभवले भन्छ दुःखमा नआत्तिकन आफ्नो जिम्मेवारी पूरा गरे समाजलाई पनि हामीले चाहे जस्तै बनाउन सक्छौं’, निर्मला आत्मविश्वासपूर्वक भन्छिन्, ‘दुनियाँको पर्वाह नगरी आफ्नो लक्ष्य र उद्देश्यमा हिँड्न सके मात्र सफलता पाउन सकिन्छ।’ अब उनको लक्ष्य संक्रमित बालबालिका र प्रभावित बालबालिकाका लागि पुनःस्थापना केन्द्र स्थापना गर्ने र उनीहरूको आमा भएर काम गर्ने चाहना छ।

‘१९ वर्षदेखि म शरीरमा एचआइभीे भाइरस बोकेर हिँडेकी छु तर म थाकेकी छैन’, उनी भन्छिन्, ‘बाँचुन्जेल एचआइभी संक्रमितकै लागि काम गर्छु।’ निर्मलाले कठिनभन्दा कठिन समय पार गरेर अघि बढेकी छन्। उनको जीवनबाट सबैले गतिलो शिक्षा लिन सकिन्छ। 

प्रतिक्रिया दिनुहोस्