कोरोना संक्रमणबाट बच्नका लागि विशेष हेल्मेट (भिडियाेसहित)



एजेन्सी : काेलम्बियामा कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि इन्जिनीयरहरूले अन्तरिक्षयात्रीले लगाउने जस्तो विशेष हेल्मेट डिजाइन गरेका छन् ।

सबभन्दा बढी जोखिममा रहेका मानिसले प्रयोग गरून् भनी यो हेल्मेट बनाइएको एयरोनटिकल इन्जिनीयर आन्द्रेस फेलिपे गिराल्डोले बताए ।

हेल्मेटका सहसर्जक रिकार्डो आन्द्रेस कोन्देले आफूलाई रोगबाट बचाउन चाहने जोकोहीलाई यो हेल्मेट सही हुने बताएका छन् । कोरोनका कारण कोलम्बियामा १० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट जोगिनका लागि मास्क लगाउने विषयमा संसारभरि बहस चलिरहेको छ । यसबाट बच्नका लागि हेल्मेट लगाएर हिँड्न कतिजना तयार होलान् भन्ने प्रश्न चाहिँ छ ।

८४ वटा डिजाइन बनाएर ती सबै अस्वीकृत भएपछि बल्ल यो डिजाइनमा आएको इन्जिनीयरहरूले बताए । हेल्मेट प्लास्टिकले बनेको छ । यसमा भएको फिल्टर र ब्याट्रीले भित्रपट्टि सफा र स्वच्छ हावाको प्रवाह गराउँछ ।

हेर्दाखेरी यो ठूलो र भारी जस्तो देखिएपनि यसको तौल जम्मा ६५० ग्राम छ । हेल्मेटको मूल्य लगभग १३० डलर छ ।

प्रतिक्रिया दिनुहोस्