भारतीय प्रधानमन्त्री मोदीले गरे राम मन्दिरको शिलान्यास



योध्या (भारत) : भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले मङ्गलबार उत्तरप्रदेशस्थित अयोध्यामा राम जन्मभूमि मन्दिर निर्माणका लागि शिलान्यास गरेका छन् । ब्राह्मणद्वारा मन्त्रोच्चारणका बीच मोदीले शिलान्यास गरेका थिए ।

त्यस क्रममा भारतका राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवत, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र त्यहाँका राज्यपाल आनन्दीबेन पटेल उपस्थित थिए ।

कोरोना त्रासका कारण सामाजिक दुरी बनाएर गरिएको शिलान्यास कार्यक्रमअघि मोदीले राम मन्दिरमा गएर साष्टाङ्ग दण्डवत गरेर आशीर्वाद लिएका थिए । त्यस क्रममा त्यहाँ हजारौँको सङ्ख्यामा साधुसन्त उपस्थित भइ श्रीरामको जयजयकार लगाएका थिए ।

शिलान्यासका लागि मोदी मङ्गलबार दिउँसो ११ बजे हेलिकप्टरबाट अयोध्याको साकेत कलेज पुगेका थिए । त्यहाँ पुगेपछि मोदी पहिले हनुमानगढी गएर हनुमान भगवानको प्रतिमामा दर्शन गरेका थिए । उनलाई त्यहाँ पगडी र मुकुट पहिराइएको थियो । शिलान्यासका लागि मोदी अयोध्या आउने भएपछि त्यहाँ सुरक्षाको प्रवन्ध कडा बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्