नेकपामा जिम्मेवारी बाँडफाँडको गृहकार्य



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि प्रारम्भिक गृहकार्य सुरु गरेको छ । पहिलो चरणमा केही महत्वपूर्ण विभाग गठन गर्ने तथा पोलिटब्युरो सदस्यको टुंगो लगाउने तयारी छ । १२ र १३ कात्तिकमा बोलाइएको स्थायी समिति बैठकबाट यी दुई काम टुंग्याउने गरी अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा महासचिव विष्णु पौडेल गृहकार्यमा छन् ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्म ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालयबाहेक अन्य संरचना बन्न सकेको छैन । प्रधानमन्त्रीसहित केही नेता सरकार र केही संसदीय समितिको सभापतिको जिम्मेवारीमा छन् ।

७ प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसहित केन्द्रीय तहका २८ नेताले नयाँ जिम्मेवारी पाएका छन् । बाँकी नेताहरूलाई कसरी जिम्मेवारी दिने भन्नेबारे उच्च तहमा आन्तरिक छलफल सुरु भएको सचिवालयका एक नेताले बताए ।


केन्द्रीय सदस्यलाई यस्ता जिम्मेवारी

अहिलेसम्म ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चुनिएका छन् । त्यस्तै, ७७ जिल्ला कमिटी, ४ विशेष जिल्ला कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटीअन्तर्गत ७ प्रदेश सम्पर्क कमिटी, प्रवास, प्रतिष्ठान र जनसंगठधनको इन्चार्जमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने तयारी छ । पार्टी एकीकरणको स्पिरिटअनुसार जिल्लामा पनि इन्चार्ज र सहइन्चार्जको व्यवस्था गर्ने गरी छलफल चलिरहेको सचिवालयका एक सदस्यले बताए । यस्तै, मोर्चा फाँटअन्तर्गत २२ वटा जनवर्गीय संगठनमा पनि केन्द्रीय तहका नेतालाई इन्चार्ज बनाउने तयारी छ । आवश्यकताअनुसार महानगर र संघीय निर्वाचन क्षेत्रमा समेत केन्द्रीय तहका नेतालाई नै इन्चार्ज खटाउन सकिने विकल्पमा परामर्श भइरहेको ती नेताले बताए ।


विभाग प्रमुखमा पोलिटब्युरोमाथिका नेता

नेकपाले तत्कालीन एमालेका अधिकांश केन्द्रीय विभागलाई निरन्तरता दिँदै केन्द्रीय विभागहरू बनाएको छ । यस्ता ३२ विभागमध्ये संघीय तथा संसदीय मामिला विभाग, स्थानीय तह मामिला विभाग, प्रदेश संसदीय मामिला विभाग, खानेपानी तथा सरसफाइ विभाग नयाँ छन् । ती सबै विभागमा आवश्यकताअनुसार केन्द्रीय सचिवालय, स्थायी समिति र पोलिटब्युरो सदस्यहरूमध्येबाट प्रमुखको जिम्मेवारी दिने गरी गृहकार्य भइरहेको उच्च स्रोतले जनाएको छ ।


केन्द्रीय सल्लाहकार र विभाग सदस्य कार्यदलले छान्ने

नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन सकेलगत्तै केन्द्रीय सल्लाहकार, केन्द्रीय आयोग र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने तथा केन्द्रीय विभागलाई पूर्णता दिनेछ । केन्द्रीय निकाय, आयोग र केन्द्रीय विभागमा रहने सदस्य सिफारिसका लागि एकीकरण कार्यदललाई जिम्मेवारी दिइएको छ । यसअनुसार सातवटै प्रदेशमा गठित एकीकरण कार्यदलहरूमध्ये अधिकांशले केन्द्रीय सल्लाहकार, केन्द्रीय निकाय, मञ्च र विभागमा रहने सदस्यहरूको नाम केन्द्रीय सचिवालयमा सिफारिस गरिसकेका छन् भने केहीले बुझाउन बाँकी छ ।


राष्ट्रपतिसँग ओली–प्रचण्डको छलफल

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

दसैँको अवसरमा गत ३० असोज (फूलपातीको दिन) प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति कार्यालयले दुवै नेताले शिष्टाचार भेट गरेको जनाए पनि राष्ट्रपति भण्डारीले सरकारको काम, नेकपाको एकता प्रक्रियालगायतका विषयमा चासो राखेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

‘राष्ट्रपतिज्यूले नेकपाको एकता प्रक्रियामा भइरहेको ढिलाइ र सरकारको कामका विषयमा चासो व्यक्त गर्नुभएको थियो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूले पछिल्ला राजनीतिक घटनाक्रम, संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागितालगायतका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राख्नुभएको थियो ।’ राष्ट्रपति भण्डारीसँग दुई अध्यक्षले करिब डेढ घन्टा छलफल गरेका थिए ।


 १४६ जनासम्मको पोलिटब्युरो

स्थायी समिति बैठकका लागि प्रस्तावित एक दर्जन एजेन्डामा पोलिटब्युरो गठन गर्ने कार्यसूची राखिएको छ । ४ सय ४१ केन्द्रीय सदस्यबाट एकतिहाइ अर्थात् १ सय ४६ जनासम्मको पोलिटब्युरो कमिटी गठन गर्ने तयारी छ । पोलिटब्युरोमा तत्कालीन एमालेमा पोलिटब्युरो सदस्य रहेका सबै र माओवादीबाट स्थायी समिति सदस्य भइसकेका रहने सचिवालयका एक नेताले नयाँ पत्रिकालाई बताए ।


 तत्काल ६ विभाग गठनको तयारी

दैनिक कार्यसञ्चालनका लागि आवश्यक ६ वटा महत्वपूर्ण विभाग यथाशक्य चाँडो गठन गर्ने नेकपाको तयारी छ । विदेश, संगठन, आर्थिक, प्रचार, स्कुल र संसदीय मामिला विभाग गठनबारे शीर्ष तहमा एकचरण छलफल भइसकेको छ । नेकपामा केन्द्रीय तहमा ३२ वटा विभाग छन् । मन्त्रालयसँग तालमेल गर्ने गरी कतिपय नयाँ विभाग बनाइएका छन् ।


 नेपाल पक्षको जोड : एक व्यक्ति, एक जिम्मेवारी

वरिष्ठ नेता माधवकुमार नेपाल समूहनिकट नेताहरूले वरिष्ठता, एक व्यक्ति एक जिम्मेवारी, एक ठाउँमा मात्रै कार्यकारी जिम्मेवारीजस्ता मापदण्डलाई आधार बनाउनुपर्ने माग गरेका छन् ।

‘प्रधानमन्त्री केपी ओली नै लामो समयदेखि एक व्यक्ति : एक जिम्मेवारीको प्रस्तावमा हुनुहुन्छ,’ नेपालनिकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधि, प्रक्रिया र मापदण्डअनुसार पार्टी सञ्चालन गर्ने हो भने अहिले नेतृत्वका हिसाबले उहाँले कसैले पनि अन्याय महसुस नगर्ने गरी प्रस्ताव ल्याउनुपर्छ । सचिवालयले गरेको गलत निर्णय पनि सच्याउन तयार हुनुपर्छ ।’


रामवीरको राजीनामा अस्वीकृत

वामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन काठमाडौं–७ का सांसद रामवीर मानन्धरले राजीनामाका लागि मागेको अनुमति नेकपा सचिवालयले अस्वीकार गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सांसद मानन्धरले राजीनामाका लागि मागेको अनुमति अस्वीकार गरेको हो । ‘रामवीर मानन्धरले राजीनामा दिनका लागि पार्टीलाई लेखेको पत्रबारे अहिले निर्णय गर्नुपर्ने जरुरी नभएको निर्णय भएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘बाँकी एजेन्डामा सोमबार व्यवस्थित छलफल हुनेछ ।’

गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन सांसद मानन्धरले गत २२ असोजमा बसेको सचिवालय बैठकमा राजीनामा दिन अनुमति माग्दै लिखित निवेदन दिएका थिए । तर, नेता ईश्वर पोखरेलको विरोधपछि अर्को बैठकमा छलफल गर्ने भन्दै स्थगित भएको थियो । गौतमले उम्मेदवारी दिनेबारे पार्टीपंक्ति र बाहिर विरोध बढ्दै गएपछि सचिवालय बैठक दुईपटक स्थगित भएको थियो । परिस्थिति अनुकूल नबनेपछि २७ असोजमा गौतमले ‘ब्याक’ भएको पार्टी नेताहरूलाई जानकारी गराएका थिए।


एकता र सरकारको काममा छलफल केन्द्रित

सचिवालय बैठकमा पार्टी एकताको काम छिटो सम्पन्न गरेर सरकारलाई सफल बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । ‘मुख्यतः पार्टीलाई कसरी सुदृढ एकताका आधारमा अघि बढाउने, सांगठनिक एकीकरणलाई हरहालतमा छिटो टुंगो लगाउने र एकताबद्ध पार्टी, एकताबद्ध नेतृत्वका आधारमा सरकारलाई पनि सफल बनाउनेगरी बैठकमा खुला र गम्भीर छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने ।


नेपालको असहमतिपत्रसहित एक दर्जन एजेन्डा

केन्द्रीय सचिवालयमा पार्टी एकताका सन्दर्भमा भएको पछिल्लो निर्णयबारे वरिष्ठ नेता माधवकुमार नेपालले राखेको असहमतिपत्रसहित एक दर्जन एजेन्डा छलफलका लागि प्रस्तावित छन् ।

बैठकमा महासचिव विष्णु पौडेलले वरिष्ठ नेता नेपालको असहमतिपत्र, सरकारको कामको समीक्षा, सरकार र संसद् सञ्चालनमा पार्टीको सम्बन्ध, रिपोर्टिङ, स्थायी समिति बैठकको मिति, प्रदेश संगठन कमिटीको पूर्णता, जिल्ला कमिटीकोे एकीकरण, पोलिटब्युरो, केन्द्रीय निकाय र केन्द्रीय विभागहरूको पूर्णता, जनवर्गीय संगठनहरूको एकीकरण, दसैँ–तिहार र छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलगायतका एजेन्डा छलफलका लागि प्रस्ताव गरेका छन् ।

आगामी १२ र १३ कात्तिकमा बस्ने स्थायी समिति बैठककका लागि सचिवालयले ती एजेन्डालाई अन्तिम रूप दिनेछ । प्रवक्ता श्रेष्ठले बाँकी एजेन्डाहरूमा सोमबार बस्ने बैठकमा छलफल हुने बताए ।


पार्टीभित्रैबाट ममाथि आक्रमण भो : गौतम

नेता वामदेव गौतमले संस्थागत विधि–प्रक्रियाअनुसार नै मानन्धरको राजीनामा र आफ्नो उम्मेदवारीको विषयले बैठकमा प्रवेश पाए पनि पार्टी सचिवालयकै केही नेताको गैरजिम्मेवार प्रस्तुतिका कारण परिस्थिति अनुकूल बन्न नसकेको धारणा सचिवालयमा राखेका थिए । आफू र पार्टीले संस्थागत धारणा नबनाउँदै सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नेताहरूबाटै कुप्रचार गरिएको भन्दै उनले यसले पार्टीको प्रतिष्ठा गिराएको र प्रतिक्रियावादीहरूलाई फाइदा पु-याउने काम गरेको धारणा राखेको एक सचिवालय सदस्यले बताए ।

‘वामदेव कमरेडको उम्मेदवारी तयारी र उपचुनावको चर्चाका सन्दर्भमा पार्टीभित्र उत्पन्न असमझदारीबारे खुलस्त छलफल भयो, उहाँले धेरै लामो पृष्ठभूमिसहित तीता–मीठा सबै कुरा राख्नुभो,’ ती सचिवालय सदस्यले भने, ‘अब त्यसबारे कुनै गुनासो नहुने गरी अहिलेलाई कुनै निर्णय नगर्ने अन्तिम निर्णय भयो ।’ याे खबर अाजकाे नयाँ पत्रिकामा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्