कैलारी गाउँपालिकामा पुनः अनिश्चितकालीन लकडाउन



कैलालीः कैलालीको कैलारी गाउँपालिकामा पुनः अनिश्चितकालका लागि लकडाउन गरिएको छ ।

मंगलबार स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे लगायत ७ जनामा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लकडाउन गरिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।

उनले भने,‘स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिहरूमा कोरोना संक्रमण देखियो, यसले थप जोखिम निम्त्याउने भन्दै लकडाउन गर्ने निर्णय रहेका हौँ ।’ आज बुधबार बसेको गाउँपालिकाको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको उनले बताए ।

बुधबारदेखि गाउँपालिकामा रहेका बैंक तथा वित्तीय संस्था बजार सबै पूर्णरुपमा बन्द गरिएको बताए । स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका सबै व्यक्तिको पहिचान नहुँदासम्म लकडाउन हुन्छ, हामीले अवस्था जटिल हुने देखेर लकडाउन गर्ने निर्णय गरेको बताए ।

कैलालीमा संक्रमितको संख्या ११६९ पुगेको छ । ती मध्ये कैलाली गाउँपालिकामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ३४ जना निको भएर घर फर्किसकेके स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

संक्रमितकै स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार र भान्छे लगायत ७ जनालाई मंगलबार कोरोना संक्रमण देखिएको हो । ती मध्येका स्वास्थ्यकर्मी एक दिन घर गएर बसेका थिए । अहिले उनीहरुको सम्पर्कमा आएका २२ जनामा पहिचान भएको बताइएको छ ।

प्रकाशित :साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्