राम मन्दिर शिलान्यासको खुसियालीमा जानकी मन्दिरमा भजन किर्तन



जनकपुरधाम : भारतको उत्तरप्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि भएको भूमिपुजनको खुशियालीमा जनकपुरधाममा रामधुन बजेको छ । भारत उत्तरप्रदेशको अयोध्यामा राम मन्दिर भूमिपुजनको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भजन किर्तन गरिएको हो ।

लामो समयदेखि विवादमा रहेको राम मन्दिर निर्माण सम्बन्धमा भारतको सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा निर्णय सुनाएपछि बुधबार भएको भूमिपुजनको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा भजन किर्तन भएको हो । राम मन्दिरको भूमि पुजनको खुशियालीमा आज जानकी मन्दिरमा भजन किर्तन भएको र साँझमा दिपावली मनाइने जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

राम मन्दिरको भूमिपुजनमा सरिक हुन जानकी मन्दिरका महन्थ राम तपेश्वर दास मंगलबार साँझ भारतको अयोध्या प्रस्थान गरेका थिए । महन्थ दास अहिले अयोध्यामै छन् । उनी अयोध्या भएपनि मन्दिर निर्माणको खुशीयालीमा जानकी मन्दिरमा भजन किर्तनको आयोजना गरिएको छ भने साँझमा जानकी मन्दिरमा दिपावली मनाइने कार्यक्रम रहेको छ । साथै सम्पूर्ण मिथिलाभर मन्दिरको भूमिपुजनको अवसरमा दिपावली मनाउन समेत आग्रह गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राम मन्दिरको शिलान्यास गरेका छन् । काशिको सरयुग घाटमा उत्तर प्रदेश सरकारले निर्माण गर्न लागेको राम मन्दिर तीन मन्जिलको रहने र मन्दिरको उचाइ १ सय ६१ फिट, चौडाइ २ सय ३५ फिट र लम्बाइ ३ सय ६० फिटको रहने बताइएको छ । मन्दिरको मूल ढोका भने पुरातात्विक हिसाबबाट बनाइने छ । मन्दिरका कुल खम्बा ३ सय १८ वटा रहनेछन् भने हरेक तल्लामा १ सय ६ खम्बा रहेछन् । मन्दिर जमिनभन्दा १७ फिट उचाइमा बन्नेछ । जसको दोस्रो तल्लामा राम दरबार रहनेछ । करीब ६९ एकड जमिनमा बन्ने यो मन्दिर विश्वकै लागि ऐतिहासिक हुने दाबी गरिएको छ ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्