सप्तरीमा कोरोनाको लक्षण देखिएका ३ जनाको मृत्यु



जनकपुरधाम : सप्तरीमा कोरोनाको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । बैदेशिक रोजगारीको क्रममा मलेसियाबाट आएर होम क्वारेन्टाईनमा बसेका एक जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जनाको मृत्यु भएको हो ।

४५ दिन पहिले मलेसियाबाट आएका सप्तरीको रुपनी गाउँपालिका–५ गढियाका ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धरान जाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।रञ्जित झाले जानकारी दिए । त्यस्तै निजि अस्पतालमा उपचार गराईरहेका अन्य २ जनाको मृत्यु बारे आफुहरुलाई विस्तृत जानकारी नरहेको मेसु डा. झा बताए । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए ।

मृतक तीनै जनाको स्वाब संकलन गरि परीक्षणका लागि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको मेसु झाले बताए । लक्षण देखिएका ४५ वर्षीय पुरुषको मृत्यु भएपछि उनका परिवारले शव घर लगेपनि पछि अस्पतालले स्थानीय प्रशासनलाई खबर गरेपछि शव प्रहरीले आफ्नो जिम्मामा राखेको छ ।

त्यस्तै निजि अस्पतालमा मृत्यु भएका २ जनामध्ये एक जनाको शव अस्पतालमा रहेको र अर्का एकजनाको शव अस्पतालले आफुहरुलाई जानकारी नदिई परिवारजनको जिम्मा लगाएको र प्रशासनकै सहयोगमा उनको शव समेत प्रहरीकै जिम्मामा राखिएको मेसु डा. झाले बताए ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्