धनगढीमा तत्काल निषेधाज्ञा र लकडाउन नहुने



धनगढीः धनगढीमा तत्काल लकडाउन वा निषेधाज्ञा जारी नहुने उप-महानगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तहमा निषेधाज्ञा र लकडाउन जारी भईरहेका बेला धनगढीमा भने तत्काल लकडाउन वा निषेधाज्ञा जारी गर्ने तयारी नरहेको उप-महानगरपालिकाले जनाएको हो ।

उप-महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले आजभोली नै लकडाउन वा निषेधाज्ञा जारी गनेबारे कुनै तयारी नभएको बताए । ‘धनगढीमा तत्काल निषेधाज्ञा र लकडाउन हुँदैन् । छलफल भने भईरहेको छ ।’ प्रवक्ता मुडभरीले भने । उनले सरकारी कार्यालय र स्वास्थ्य संस्थामा हुने भीडभाड नियन्त्रणका लागि भने थप सतर्कता अपनाउने तयारी भईरहेको बताए ।

‘लकडाउन वा निषेधाज्ञा जारी गर्ने वा नगर्ने विषयमा विभिन्न पक्षसंग छलफल भने भईरहेको छ,’ उनले भने,‘सबै पक्षबाट मिश्रित कुरा आईरहेको छ । त्यसैले तत्काल कुनै निर्णय भएको छैन ।’ धनगढी उप-महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढीमा संक्रमितको संख्या एक सय २८ पुगेको जानकारी दिए ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेपछि सुदूरपश्चिमका विभिन्न पालिकामा निषेधाज्ञा गरिएको छ । दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । दाचुलाकै नौगाड गाउँपालिकाले एक वडाबाट अर्को वडामा प्रवेश बन्द गरेको छ। बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्यू गाउँपालिकाको वडा नं.६ र ७ मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ले पनि कोरोनाको जोखिम बढदै गइरहेको भन्दै मंगलबार राति १० बजेदेखि वडालाई सिल गरेको छ । कैलालीको कैलारी गाउँपालिकाले पनि कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन भोलीदेखि लकडाउन गर्ने भएको छ ।
प्रकाशित :साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्