आज सुदूरपश्चिममा ४३ जना कोरोना संक्रमित थपिए



धनगढीः बुधवार सुदूरपश्चिमका थप ४३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा ४ सय ९ जनाको कोरोना परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार संक्रमित सबै बझाङ जिल्लाका हुन् । यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८६ जनाको कोरोना परीक्षण भएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीका २१, अछामका ७, बझाङका ३ र कञ्चनपुरका १ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्कीचुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको छ ।

भजनी नगरपालिकाका २४ र ३३ बर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर ४ का १८ बर्षीय युवक र टीकापुर नगरपालिकाका ३४ बषीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का ४ महिला र ३ पुरुष, बझाङको खप्तड छान्नाकी ७ महिने बालिका र जयपृथ्वी नगरपालिकाका २० वर्षीया युवती र २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.४ का ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ८१ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका १ हजार २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डोटीका सात सय ८२, अछाममा सात सय २८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कञ्चनपुरका ५ सय ६९, डडेल्धुराका ३ सय ९, बैतडीका २ सय ९५, बझाङका २ सय ९३ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका झण्डै ३ हजार ३ सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

प्रकाशित :साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्