श्रम कार्यालयमा बिचौलियाको बिगबिगी



जनकपुरधाम : संघीय सरकारले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको पुनः श्रम स्वीकृतिको सहजताका लागि स्थापना गरेको श्रम तथा रोजगार कार्यालय जनकपुरमा बिचौलियाहरुको बिगबिगी  देखिएको छ ।

कर्मचारी आभावको समस्या खेप्दै आएको कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएका बेला बिचौलियाले खेल्ने ठाउँ पाएका हुन् । सहज ढंगले गर्दा कैयौं दिन लाग्ने काम बिचौलियाले कर्मचारीसँग सेटिङ गरी आर्थिक लेनदेनको आधारमा छिटो गरिदिने भन्दै सर्वसाधारण ठगिरहेका छन् । बिचौलियाले सेवाग्राहीसँग कार्यालय बाहिरै पासपोर्ट लिई चोर बाटोबाट भित्र गएर काम गराउँदा लाइनमा बसेका सेवाग्राही मारमा परिरहेका छन् । 

बिचौलियाले फारम भर्ने बेलामै सेवाग्राहीलाई काम बन्न धेरै दिन लाग्ने र आफू मार्फत गराउँदा एक दिनमै हुने भन्दै प्रभावमा पार्ने गरेको लाइनमा बसिरहेका सेवाग्राही सञ्जय यादवले बताए । त्यसरी काम गर्दा विचौलियाले प्रति फाराम पाँच सय देखि पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् । 

वैदेशिक रोजगारमा जानेहरूलाई पासपोर्ट नवीकरण गराउने काम मात्र गर्दै आएको जनकपुर स्थित श्रम तथा रोजगार कार्यालयमा दैनिक सयौको संख्यामा सेवाग्राही आउने गरेका छन् । तर कर्मचारी अभावको बहानामा सबैको काम हुने गरेको छैन । कार्यालयमा ९ जना कर्मचारी छन् ।

भएका कर्मचारी पनि बिचौलियाको प्रभावमा पर्ने र सेटिङको कामलाई महत्त्व दिने भएकाले लाइनमा बस्ने सर्वसाधारण एक दिनमै सकिने कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यतामा परेको यादवको गुनासो छ । 

आर्थिक लेनदेनको विषयलाई कार्यालय प्रमुख मनोज कुमार यादवले भने निराधार बताएका छन् । फाराममा त्रुटि भएकालाई सच्याउन लगाउँदा पुनः लाइनमा बस्नु नपरोस भन्ने उद्देश्यले ग्राहयता दिइएको उनको भनाइ छ । 

कार्यालयले सेवाग्राहीको सहजता र भीड नियन्त्रणका लागि टोकन प्रक्रिया लागू गरे पनि प्रभावकारी हुन सकेको छैन । कार्यालयमा सुस्त गतिमा काम हुने गरेको छ भने दिनभर लाइनमा बसेका सर्वसाधारण काम नभएर खाली हात फर्कन बाध्य भइरहेका छन् । 

पुस १५ गतेदेखि सञ्चालनमा आएको प्रदेश २ स्थित श्रम तथा रोजगार कार्यालयबाट फागुन मसान्तसम्म ७ हजार ६ सय २३ सेवाग्राहीले पुनः श्रम स्वीकृति गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्