होलीमा उछृङ्खल गतिविधि गर्ने २ सय ९४ जना पक्राउ



काठमाडौं : होलीमा उछृङ्खल गतिविधि गर्ने २ सय ९४ जनालाई काठमाडौं जिल्लाबाट पक्राउ गरिएको छ । काठमाडौं प्रहरी परिसरले ५ महिलासहित २ सय ९४ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूमा जथाभाबी रंग दल्ने र लोला हान्ने, हो–हल्ला गर्ने, झगडा गर्ने र मापसे गरेर सवारी साधन चलाउने रहेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले बताए । 

यसै गरी ९ सय १८ सवारी चालक कारबाहीमा परेका छन् भने ६ सय ५६ सवारी साधनलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए । 

महाशाखाले मापसे गरेका १३५, सरकारी सवारी २५ र अरू कागजपत्र नबोक्ने, हेलमेट नलगाउने, नियम मिच्नेलगायतलाई कारबाही गरेको हो । 

होलीलाई लक्षित गरी अधिकांश चोक, सडक तथा गल्लीहरूमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्