आईसीयू भवन र मोलिकुलर ल्याबको सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा उदघाटन



काठमाडौंः सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले (कोभिड-१९) उपचारार्थ नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आईसीयू भवन र मोलिकुलर ल्याबको उदघाटन गरेका छन् ।

कोभिडको उपचारको लागि तीब्रगतिमा निर्माण भएको २० शैय्याको आईसीयू भवन र मोलिकुलर ल्याबको आज (बुधबार) साउन २१ गते सशस्त्र प्रहरी महानिरीक्षक खनालले उदघाटन गरेका हुन् ।
उनले त्यस अवसरमा नागरिकलाई महामारीको बेला प्रदान गर्नुपर्ने सेवा र सुरक्षाको साथै अति नै महत्वपूर्ण रहेको स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी अहोरात्र बिरामीको सेवामा क्रियाशिल रहन सो अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिए ।

उनले नेपाल सरकारबाट सो अस्पताललाई (कोभिड-१९) रोकथाम तथा उपचारमा डेडिकेटेड अस्पतालको जिम्मेवारी सुम्पिएकोमा उक्त जिम्मेवारी निर्वाहका लागि थप भएका सेवा सुविधाको अधिकतम उपयोग गरि स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पताल सधैं प्रतिवद्ध रहने उल्लेख गरे ।

सो अस्पताललाई महामारीको बेला मात्र नभई अरु बेला समेत सेवामूखी बनाउँदै लगिने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कोभिड-१९ महामारीमा रोगको उपचार, परिक्षण तथा रोकथाममा सो निर्माणले थप टेवा पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड-१९ यूनिफाईड अस्पताल निर्देशन समितिका अध्यक्ष डा. रोशन पोख्रेलले यस कोभिड-१९ महामारीको बेला रोगको पहिचान तथा सीघ्र उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ नेपाल एपीएफ अस्पतालमा आई.सी.यू.भवन र मोलिकुलर ल्याबको स्थापना गरिएको बताए ।

नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.रुपक महर्जनले स्वागत मन्तब्यको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विभिन्न मितिमा प्राप्त बजेट तथा नेपाल एपीएफ अस्पतालको नियमित बजेटबाट सो निर्माण सम्पन्न भएको जानकारी गराए ।

प्रकाशित: साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्