प्रदेश २ मा मन्त्रालयका कर्मचारीसहित २२७ जना संक्रमित थपिए, मन्त्रालयको काम बन्द, ८ जिल्ला मध्ये ५ जिल्लामा निषेधाज्ञा



जनकपुरधाम: प्रदेश नं.२ मा रौतहट बाहेक सबै जिल्लामा गरि पछिल्लो २४ घण्टामा २ सय २७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार पर्सामा १ सय ४७ जना, धनुषामा २३ जना, सर्लाहीमा १९ जना, बारामा १९ जना, महोत्तरीमा १४ जना, सिरहामा ४ जना र सप्तरीमा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार २ सय ७२ पुगेको छ । संक्रमितमध्ये ४ हजार ७ सय ७४ पुरुष र ४ सय ९८ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ देखि २५ सम्मका २१ देखि ५७ बर्ष उमेर समुहका १६ जना महिला र १८ देखि ७४ बर्ष उमेर समुहका ७६ जना पुरुष, जगरनाथपुर गाउँपालिका–५ का २२ बर्षिय एक पुरुष, वडा प्रहरी कार्यालय विर्ताका २८ बर्षिय एक पुरुष, इलाका प्रहरी कार्यालय प्रसौनीका १९ देखि ४४ बर्ष उमेर समुहका ४ जना पुरुष प्रहरी, आर्मी ब्यारेकका २२ बर्षिय एक नेपाली सेना, सशस्त्र प्रहरी बल भन्सारका २८ देखि ३५ बर्ष उमेर समुहका ४ जना पुरुष प्रहरी, जीराभवानी गाउँपालिका–३ का २२ र २३ बर्षिय २ जना पुरुष, पर्साका ४२ बर्षिय एक पुरुष, विन्दवासीनी गाउँपालिका–४ का २६ बर्षिय एक पुरुष, वीरगञ्ज कारागारका २४ देखि ६० बर्ष उमेर समुहका ७ जना महिला र ५ देखि ६८ बर्ष उमेर समुहका २३ जना पुरुष, वीरगञ्ज चिनी मिलमा कार्यरत ८ बर्षिया बालिका र २८ बर्षिया महिला तथा १८ देखि ४४ बर्ष उमेर समुहका ३ जना पुरुष, पोखरिया नगरपालिका २ र ९ का १६ देखि २० बर्ष उमेर समहुका ३ जना महिला र १४ बर्षिय एक बालक र नारायणी अस्पतालमा कार्यरत २८ बर्षिया एक महिला कर्मचारी रहेका छन् ।

धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२, ४ र ९ का २६ बर्षिया एक महिला र २६ देखि ६० बर्ष उमेर समुहका ३ जना पुरुष, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९, १० र १३ घर भई हाल प्रादेशिक अस्पतालमा रहेका ३२ देखि ५२ बर्ष उमेर समुहका ५ जना पुरुष, हंसपुर नगरपालिका–८ घर भई प्रादेशिक अस्पतालमा रहेका ३५ बर्षिय एक पुरुष, सिएम क्वारेन्टाईनमा रहेका ४० बर्षिय एक पुरुष, आन्तरिक मामिला तथा कानून मन्त्रालयका ४२ बर्षिया एक महिला र २८ देखि ५१ बर्ष उमेर समुहका ७ जना पुरुष कर्मचारी र जनकपुरधाम–१ स्थित माछापुछ«े बैंकमा कार्यरत ३९ देखि ४८ बर्ष उमेर समुहका ३ जना पुरुष कर्मचारी र धनौजी गाउँपालिकाका ३३ बर्षिय एक पुरुष रहेका छन् ।

बाराको सिमरास्थित क्वारेन्टाईनमा रहेका २३ देखि ५३ बर्ष उमेर समुहका ५ जना महिला र २३ देखि ६८ बर्ष उमेर समुहका १२ जना पुरुष, फेटा गाउँपालिका–४ का २८ बर्षिय एक पुरुष र कलैया उपमहानगरपालिकाका २९ बर्षिय एक पुरुष संक्रमित भएका छन् ।

सर्लाहीको बरहथवा नगरपालिकाका १८ देखि ८० बर्ष उमेर समुहकी ४ जना महिला र २० देखि ७२ बर्ष उमेर समुहका १४ जना पुरुष तथा मलंगवा नगरपालिका–८ का ४८ बर्षिय एक पुरुष संक्रमित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–३ देखि ९ सम्मका १७ देखि ७४ बर्ष उमेर समुहका ११ जना पुरुष, जलेश्वर नगरपालिका–९ का २५ बर्षिय एक पुरुष, बर्दिबास नगरपालिका–८ का ४५ बर्षिय एक पुरुष र एकडारा गाउँपालिका–१ का ३४ बर्षिय एक पुरुष समेत कोरोना संक्रमणको चपेटमा परेका छन् ।

सिरहाका संक्रमितहरु गोलबजार नगरपालिलका–१२ घर भई हाल प्रादेशिक अस्पतालमा रहेका २३ बर्षिय एक पुरुष र मिर्चैया नगरपालिका–६ का २६ देखि ३३ बर्ष उमेर समुहका ३ जना पुरुष रहेका छन् भने सप्तरीको राजविराज नगरपालिका–१ की १८ बर्षिया एक महिला समेत संक्रमित भएकी छन् ।

प्रदेशभरीमा बुधबारसम्म सप्तरीमा ९ हजार १ सय ४७, सिरहामा ४ हजार २ सय १६, धनुषामा ६ हजार ६ सय ३९, महोत्तरीमा ४ हजार २ सय ७०, सर्लाहीमा ६ हजार २ सय १, रौतहटमा १५ हजार ८ सय १०, बारामा ५ हजार ४ सय ९ र पर्सामा १२ हजार ७ जना गरि जम्मा ६३ हजार ६ सय ९९ जनाको स्वाब परिक्षण गरिएकोमा ५ हजार २ सय ७२ जना संक्रमित भएका छन् भने ५४ हजार ८ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार १ सय १८, सिरहामा १ सय ३५, धनुषामा ७ सय, महोत्तरीमा ६ सय २०, सर्लाहीमा ९४, रौतहटमा १ सय ६८, बारामा २ सय २६ र पर्सामा ५ सय ४० जना गरि कुल ३ हजार ६ सय १ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज मात्रै सप्तरीमा २ सय ८५, धनुषामा १ सय ७०, महोत्तरीमा १ सय ८४, रौतहटमा ९९, बारामा १ सय ३३ र पर्सामा ५ सय ४० जना गरि १ हजार ४ सय ११ जनाको स्वाब संकलन गरिएको छ ।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ८ सय ६७ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ६३, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ६, सर्लाहीमा ६, रौतहटमा १ सय २७, बारामा ४६ र पर्सामा २९ जना गरि कुल १ हजार २ सय ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार ६ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १५ हजार ६ सय ८८ बेड क्षमताको २ सय ५१ वटा क्वारेन्टाइनमा अहिले १ हजार ५ सय ६४ जनालाई राखिएको छ भने २ हजार ६ सय २७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ४ सय ७ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा २ सय १, सिरहामा २८, धनुषामा १ सय २, महोत्तरीमा ५६, सर्लाहीमा ३०, रौतहटमा ६, बारामा २० र पर्सामा ३ सय ५८ जना गरि ८ सय १ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५९ जना संक्रमित भएका छन् । महोत्तरीमा ८ सय ५२, धनुषामा ७ सय ६४, सर्लाहीमा ७ सय ३१, पर्सामा ७ सय २७, सप्तरीमा ५ सय २३, सिरहामा २ सय १९ र बारामा १ सय ९७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा यस प्रदेशमा २१ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ६, महोत्तरीका १३ र पर्साका २ जना व्यक्तिहरु छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय ५४, सिरहाका १ सय ६६, धनुषाका ५ सय ८६, महोत्तरीका ३ सय ५७, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५०, बाराका १ सय ७० र पर्साका १ सय ९७ जना गरि ३ हजार २ सय ३२ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।
प्रदेश २ मा हालसम्म पर्सामा १४, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयहरुको काम बन्द

मन्त्रालयकै कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिएपछि प्रदेश २ का एक मन्त्रालय बाहेक सम्पूर्ण मन्त्रालयको काम ठप्प भएको छ ।

मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सम्पूर्ण काम बन्द गरिएको हो । आन्तरिक मामिला मन्त्रालयमा बुधबार मात्रै ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यसअघि सामाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएपछि सतर्कता र सुरक्षा अपनाउन मनत्रलयहरुको कामकाज बन्द गरिएको हो । यद्यपि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालय भने अहिले पनि खुुल्ला नै रहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताल्चा लगाइएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधवार ताल्चा लगाइएको हो ।

मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक अतिश मिश्रका अनुसार मन्त्रालयहरुमै संक्रमित फेला परेपछि अन्य कर्मचारी र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राखेर कार्यालय बन्द गरिएको हो । मिश्रले कन्ट्राक्ट ट्रेसिंग लगायत कर्मचारीहरुको स्वाब संकलन गरी त्यसको रिपोर्ट आएपछि मुख्यमन्त्री कार्यालय लगायत अन्य मन्त्रालयका कार्यालयहरु खोलिने बताए ।

८ जिल्ला मध्ये ५ जिल्लामा निषेधाज्ञा

प्रदेशको ८ वटा जिल्ला मध्ये ५ वटा जिल्लामा पूर्ण रुपले निषेधाज्ञा जारी गरिएको छ भने बाँकी ३ वटा जिल्लाको केहि भागमा निषेधाज्ञा लगाइएको छ । भारतसँगको खुल्ला सीमाका कारण चोरबाट हुँदै नेपाल प्रवेश गर्ने गरेको र प्रदेशको सबै जिल्लाको सीमा भारतसँग जोडिएको कारण यस प्रदेशमा संक्रमितको संख्या ह्वातै बढेको छ भने मृत्यु दर पनि यस प्रदेशमा सबैभन्दा बढी रहेका छन् ।

हरेक जिल्लामा कोरोना संक्रमित बढदै गएपछि स्थानिय प्रशासनले आवश्यकता अनुसार आ–आफ्नो जिल्लामा निषेधाज्ञा जारी गरेको हो । सो क्रममा बारा, पर्सा, सप्तरी, सर्लाहीमा जिल्ला भर निषेधाज्ञा लगाइएको छ भने जिल्ला प्रशासन कार्यालय रौतहटले समेत आज जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । रौतहटमा साउन २४ गते देखि ३२ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले साउन १९ गते निर्णय गर्दै साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । त्यस्तै सर्लाहीमा आजदेखि साउन २७ गते राति १२ बजे सम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै बारा र पर्सा जिल्लामा अनिश्चितकालको लागि निषेधाज्ञा जारी गरिएको छ । धनुषा, महोत्तरी र सिरहाको केहि स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले भारतसँगको खुल्ला सिमाको कारण यस प्रदेशमा कोरोना संक्रमित बढेको र यो प्रदेश कोरोना संक्रमितको हटस्पट बनिसकेको कारण अब नयाँ रणनीति अनुसार अगाडी बढने बताए । उनले कोरोना नियन्त्रणको लागि १५ दिन सम्म पूर्ण रुपमा सीमा नाकाबन्द गर्ने बताए । उनले वीरगंज जस्तै आवश्यकता अनुसार ठाउँ ठाउँमा एक परिवारमा एकजनाको जाँच गरिने बताए ।

प्रकाशित: साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्