छोरीको सुसाइड नोट : बुवाको नाममा २० लाख जम्मा गरेकी छु



विराटनगर : सनराइज बैंक शाखा कार्यालय विराटनगरमा कार्यरत एक महिला कर्मचारीले ‘सुसाइड नोट’ लेखेर बुधबार विष पिएको पाइएको छ। मुसा मार्न प्रयोग गरिने विषादी पिएर विराटनगर महानगरपालिका-८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडा आत्महत्या गरेको  मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनकाअनुसार विष पिएर घाइते अवस्थामा भेटिएकी उनको उपचारका क्रममा दिउँसो करिब १२:३० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

बैंकको कार्यालयको शौचालयभित्रै उनलाई बेहोस अवस्थामा भेटिएको थियो। छेउमै विषादीको बट्टा पनि भेटिएकाले उनकाे मृत्युको कारण विष पिएरनै भएको अनुमाान प्रहरीले गरेको छ। साथै उनले ब्लेडले आफ्नो देब्रे हातसमेत काटेको डीएसपी राईले बताए।

ब्लेडले हात काटेपछि कार्यालयमा रहेको मुसा मार्ने औषधि पिएर आत्महत्या गरेको  प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ। ब्लेड र विषादीको बट्टा पनि प्रहरीले बरामद गरेको छ। विषादी पिएर आत्महत्याको  प्रयास गर्नुअघि उनले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ।

बाबु र आमालाई सम्बोधन गरेर लेखिएको नोटमा आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको राईले बताए। मृतक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको उल्लेख गरेको जानकारी राईले दिए।

खतिवडा परिवार नजिकका एक सदस्यका अनुसार युवतीमा केही दिनदेखि मानसिक तनाव देखिएको थियो। सातादिन अघि पनि युवतीले आत्महत्याको प्रयास गरेको जानकारी परिवारले प्रहरीलाई दिएको डीएसपी राईको भनाइ छ। शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको बाँकी अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए।अन्नपूर्ण पोष्ट दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्