आजदेखि फेरि जोरबिजोर प्रणाली लागू



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको छ ।

बुधवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै गृहमन्त्रालयले आज (बिहीवार)देखि लागू हुने गरि काठमाडौं उपत्यका र कोभिड–१९ को दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमितहरू भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरू जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने व्यवस्था गरिने उल्लेख छ ।

‘यस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्लाभित्रसमेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने,’ विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी गृहमन्त्रालयको विज्ञप्तिमा मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गरिने उल्लेख छ ।

जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्डको उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालक समेतलाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

साथै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुवाहक सवारी साधनहरूलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाइका साथ पालना गरिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकामा आवतजावतलाई कडाइका साथ निषेध गर्नुका साथै होटल, रेस्टुराँमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा सामूहिक भेलाजस्ता कार्यपनि निषेध गर्ने उल्लेख छ ।

नेपालका विभिन्न स्थानमा थप ३ सय ८१ जनामा कोभिड–१९ पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको छ ।

बुधबारसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१ हजार ३ सय ९० र सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६ हजार १ सय ७४ पुगेको छ ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्