सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो आज ?



काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएका कारण तत्काल सुनको मूल्य बढ्ने क्रम रोकिने सम्भावना न्यून रहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्