छ दिनअघि प्रधानमन्त्री ओली र गृहमन्त्री थापालाई भेटेर फर्केका थिए प्रदेश २ का कानूनमन्त्री यादव



काठमाडौँ : प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण देखिएको छ । उनी छ दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेर फर्केका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रदेश प्रहरी कानुनसम्बन्धी बैठकमा सहभागी हुन उनी साउन १५ गते काठमाडौँ आएका थिए । बैठकमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाका अतिरिक्ति सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी थिए । यस्तै गृहमन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका अधिकारीहरु सहभागी थिए ।

बैठकमा प्रदेश प्रहरी गठनसम्बन्धी कानुनका विषयमा छलफल भएको थियो । बैठक सकिएपछि प्रधानमन्त्री ओली र गृहमन्त्री थापासँग यादवसहित सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा अन्य अधिकारीहरुले सामूहिक तस्बिरसमेत खिचाएका थिए ।

मन्त्री यादव साउन १६ गते उक्त बैठकमा सहभागी भइ साउन १८ गते प्रदेश २ को राजधानी जनकपुर फर्केका थिए । उनले कोरोना परीक्षणका लागि साउन १९ गते स्वाब दिएका थिए । उनको स्वाबलाई पीसीआर विधिबाट साउन २१ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो ।

उनले स्वयम् आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै सार्वजनिक गरेका थिए । उनको स्वास्थ्यअवस्था सामान्य छ र आफूलाई निवासमै क्वारेन्टाइनमा बसेका छन् । मन्त्री यादवलाई कोरोना देखिएपछि बालुवाटार बैठकमा सहभागी भएका नेतृत्व तथा अन्य अधिकारीलाई पनि सशङ्कित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्