लेबनान विस्फोट : १३५ को मृत्यु, चार हजारभन्दा बढी घाइते



बेरुत : लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।

करिब दुई हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजारभन्दा बढी घाइते भएका बताइएको छ ।
यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो ।

लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताएका थिए । लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति भनेका छन् । उनले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् ।

उनले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरुलाई कडा कारबाही गरिने छ र उनीहरुलाई उम्किन दिइने छैन भने । गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिनाअघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्