जसपा कार्यकारिणी बैठकमा सात एजेण्डामा छलफल हुँदै



काठमाडौं : जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी बैठकमा सात वटा एजेण्डामा छलफल शुरु भएको छ ।

ललितपुरको चासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बुधबारदेखि शुरु भएको बैठकमा आजदेखि भने एजेण्डमा छलफल भएको हो ।

पार्टी एकीकरणपछि पहिलो पटक बसिरहेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी बैठकमा पार्टीको समायोजनसम्बन्धी निर्देशिका, आचार एवं व्यवहारसम्बन्धी आचार संहिता, वर्तमान परिस्थती र हाम्रो दायित्व, कार्यकारी समितिको कार्य विभाजन, संगठनात्मक कार्य योजना, समसमायीक प्रस्ताव र विविध शिर्षकमा गरी तय गरिएको एजेण्डामा विस्तृत छलफल हुने छ ।

बुधबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले उक्त एजेण्डाहरु प्रस्तुत गरेका थिए । बिहीबारदेखि ती एजेन्डाहरुमाथि छलफल शुरु गरिएको नेता बृषेशचन्द्र लालले जानकारी दिए ।
सबै एजेन्डाहरुमाथि कार्यकारणी समितिका सदस्यहरुले विचार राखेपछि त्यसलाई पारित गर्ने कार्यक्रम रहेको उनले बताए ।

शुरुमा पहिलो बैठक भएकाले चार दिनसम्म प्रशिक्षण चलाउने र त्यसपछिको दुई दिन बैठक गर्ने कार्यतालिका जसपाले सार्वजनिक गरेको थियो । तर पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या बढ्न थालेपछि बैठकलाई छोट्याइएको जनाइएको छ ।

साथै तत्कालका लागि प्रशिक्षण स्थगित गरेर सिधै एजेण्डामाथि छलफल गर्न लागिएको पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठक शुरु

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्