गृहजिल्ला सप्तरीमा पूजापाठ गर्दै सिके राउत



जनकपुर : नवगठित जनमत पार्टीका अध्यक्ष सिके राउत मंगलबार गृहजिल्ला सप्तरी पुगेका छन्। उनको घर जिल्लाको महादेवा गाउँपालिकामा पर्छ।

सिरहाको लहानमा आयोजित दुईदिने राष्ट्रिय परिषद् बैठकबाट स्वतन्त्र मधेस गठबन्धन विघटन गरी जनमत पार्टी गठन गरेका उनी त्यसपछि सप्तरी गएका हुन्। पार्टी गठनको केही दिनअघि उनले सरकारसँग ११ बुँदे सम्झौता गरेका थिए।

सप्तरीको कल्याणपुर, शम्भूनाथ, रूपनी, राजविराज, महादेवा, तोपा, हनुमाननगर हुँदै भारदह पुगेका उनले साँझ ६ बजे भारदहस्थित कंकालिनीमाई मन्दिरमा देवीको पूजा आराधना गरेका थिए।

नवगठित जनमत पार्टीको ब्यानर बोकको कार्यकर्ताको जुलुसले ‘सिके राउत जिन्दाबाद, जनमत पार्टी जिन्दावाद’ लगायत नारा लगाएको थियो। मोटरसाइकल, जिप, कार, ट्र्याक्टरसहितको जुलुसले ‘जनमत दो, आजादी लो’ नारा घन्काएका थिए।

उनले आफ्नो गाउँपालिकामा रहेको अंकुरी महादेव मन्दिरमा पनि पूजापाठ गरेका थिए। तर उनले कहीं पनि न त सम्बोधन गरे न त सञ्चारकर्मीसँग नै कुनै प्रतिक्रिया दिए।

सरकारसँग भएको सम्झौतासँगै पार्टी गठनलाई ऐतिहासिक भन्दै कार्यकर्ताले गृहजिल्ला सप्तरीमा उनी आउनुलाई विजय र्‍यालीका रूपमा मनाएको जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसीले बताए।

पार्टी गठनसँगै संवैधानिक रूपमा जनताको समस्या, माग, हकहित र अधिकारका लागि तथा विभेद अन्त्यका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धतासहित जनमत लिन सर्वसाधारणमाझ जाने नीति पार्टीको रहने जुलुसका एक सहभागीले बताए।

कार्यकर्तासँग अबेर रातिसम्म छलफल गरेका उनी महदेवा गाउँपालिकास्थित आफ्नै घर पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्