प्रदेश २: मन्त्री, सांसद र मन्त्रालयका कर्मचारीहरु संक्रमित भएपछि मुख्यमन्त्री कार्यालय लगायत मन्त्रालयहरु सिल



जनकपुरधामः प्रदेश नम्बर २ का मन्त्री, सांसद र मन्त्रालयका कर्मचारीहरुमा कोरोनाको संक्रमण पुष्टी भएपछि मुख्यमन्त्री कार्यालय लगायत मन्त्रालयहरुको कामकाज ठप्प भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेशसभा सदस्य डा. रिना यादव, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरु कोरोना संक्रमित भएपछि सम्पूर्ण कामकाज बन्द गरि मन्त्रालय भित्र प्रवेश निषेध गरिएको हो ।

आन्तरिक मामिला मन्त्रालयमा बुधबार मात्रै ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । यसअघि सामाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएपछि सतर्कता र सुरक्षा अपनाउन मन्त्रालयहरुको कामकाज बन्द गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताला लगाइएको छ भने सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधवार ताला लगाइएको हो ।

कोरोना संक्रमण फैलिनसक्ने भन्दै मुख्यमन्त्री सहित केहि मन्त्रीहरु निवासबाटै काम गरिरहेका छन् भने केहि मन्त्री आफ्नो गृह जिल्ला गएको बताइएको छ ।

मधेस भवनको मुख्यद्वारमा खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भित्र प्रवेश दिइरहेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोले हालका लागि सो कार्यालय सिल गरिएको सूचना टाँसिएको छ ।

प्रकाशितः साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्