सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



धनगढीः सुदूरपश्चिम प्रदेशमा आज ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, शिक्षण अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बिहीबार थप नौं जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बाजुराका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनका अनुसार शिक्षण अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको छ ।

उता सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र अछामको साँफेवगर नगरपालिकाका २७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज तीन जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा एक सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ र एक सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।

उनका अनुसार डोटीको सायल गाउँपालिका वडा नम्वर १ का २८ वर्षीय पुरुष र १० वर्षीया बालिका गरी दुई जना र बैतडीको मेलौली नगरपालिका वडा नम्वर ७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । आज ९ जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ९० पुगेको छ ।

हाल सम्म संक्रमण पुष्टि भएका ३ हजार ४ सय डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशितः साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्