‘तत्काल देशभर ‘लकडाउन’ हुँदैन’-मन्त्री खतिवडा



काठमाडौंः अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पारेका छन् ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा देशभर एकै साथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन् ।

उनले त्रसित भएर पूर्णरुपमा यस अघि जस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैले पनि नबनाउन आग्रह गरे । उनले अहिले पनि दुई दर्जनभन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताए ।

उनले कोरोना संक्रमणको जोखिम कम गर्न कडाइ गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्न खुकुलो गर्नेगरी बीचको बाटो अपनाउने बताए । यद्यपि, संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनको भनाइ छ ।

उनले सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने÷नगर्ने विषयमा उदार भएर निर्णय गर्ने स्थिति नरहेकोसमेत बताए । अहिलेको स्थिति रहिरहेमा उदार बनेर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने र उडान गरिहाल्ने अवस्था नरहेको उनको भनाइ छ ।

यस्तै, विदेशमा अलपत्र परेका व्यक्तिलाई मात्रै उद्धार गर्ने गरी हवाई उडानको व्यवस्था गरिने पनि बताए । काठमाडौं उपत्यकाभित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखम भएको हुनाले केही कदमहरु चाल्न सुरु गरिएको बताए ।

जनजीवनमा अप्ठेरो परे पनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि आग्रह गरे । ‘क्वारेन्टिन’हरु खाली हुँदै जाने र ‘आइसोलेसन’का बेडहरु बढ्दै जाने स्थिति भएकाले सोही अनुसारको व्यवस्था गर्नुपर्ने आवश्यकता अनुसार काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित: साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्