भारतीय भन्सारले रुपैडिया नाकामा रोक्यो १४० ट्याङ्कर



बाँके : भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । 

अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए ।  

उनले फलफूल र तरकारी बोकेका गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भने अनलाइन सेवा सञ्चालन नभएसम्म नेपाल आउने सम्भावना नरहेको बताए । उनले भने, ‘हामीले हिजोदेखि भारतीय भन्सारसँग समन्वय गरिरहेका छौँ । सर्भरमा समस्या देखिएकोले बनाइरहेको जानकारी पाइरहेका छौँ ।’ भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध गर्दै आएको उनले बताए । 

१० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन् । 

भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्याङ्कर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए । 

पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भित्र्याउन पहल भइरहेको नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ । 

ट्याङ्कर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्